वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ। उपचारका क्रममा चिकित्सकमाथि भएको आक्रमणपछि सुरक्षाको प्रत्याभूति नभएको भन्दै अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। साथै आन्दोलनलाई थप कडा बनाउँदै उनीहरूले आकस्मिक सेवासमेत बन्द गरेका छन्।
गत शनिबार एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। उक्त घटनापछि चिकित्सकहरूले अस्पतालभित्र आफूहरू असुरक्षित भएको भन्दै दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
चिकित्सकहरूका अनुसार घटनाको छानबिन तथा सुरक्षा व्यवस्थाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले उल्टै अपमानजनक व्यवहार र दुर्व्यवहारको सामना गर्नुपरेको थियो। त्यसपछि पेशागत सम्मान र सुरक्षामाथि गम्भीर प्रश्न उठेको निष्कर्षसहित सामूहिक राजीनामा दिने निर्णय गरिएको उनीहरूको भनाइ छ।
यो पनि पढ्नुहोस्: प्रशासनसँग टक्कर : नारायणीका चिकित्सकको सामूहिक राजीनामा, देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द
अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा पर्याप्त सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन असम्भव भएको उल्लेख गरिएको छ।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक बनेका थिए। चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
तर वार्ता अपेक्षाविपरीत तनावपूर्ण बनेको डा. सिंहको दाबी छ। उनका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग्न सकिने चेतावनी दिएपछि वातावरण बिग्रिएको थियो।
यो पनि पढ्नुहोस्: नारायणी अस्पताल घटनामा दोषीलाई कडा कारबाही हुन्छ : मन्त्री मेहता
डा. सिंहका अनुसार त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आक्रोशित बनेका थिए। उनले चिकित्सकहरूमाथि अपशब्द प्रयोग गरिएको र प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिइएको आरोप लगाए।
उनले वार्ता सकिएपछि बाहिर निस्कँदै गरेका चिकित्सकलाई प्रहरीले घेरा हालेको, मोबाइल फोनसमेत खोसेको, पुनः प्रशासन कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखिएको तथा अपराधीसरह व्यवहार गरिएको दाबी गरे।
यो पनि पढ्नुहोस्: नारायणी घटनाः एक पक्राउ, थप अनुसन्धान जारी
"हामीमाथि अपराधीलाई जस्तो व्यवहार गरियो। यस्तो अवस्थामा चिकित्सकको सम्मान र सुरक्षाको कुनै अर्थ रहँदैन। त्यसैले यस्तो वातावरणमा काम गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेर सामूहिक राजीनामा दिएका हौं," डा. सिंहले भने।
चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि समेत आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यसैबीच, नेपाल चिकित्सक संघले देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।
यो पनि पढ्नुहोस्: चिकित्सकमाथि आक्रमणपछि वीरगञ्जका अस्पताल ठप्प