नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडको विरोधमा वीरगञ्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण आइतबारदेखि आकस्मिक सेवासमेत बहिष्कार गर्दै सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारिएको छ।
शनिबार सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै डा. प्रमोद राममाथि कुटपिट गरेका थिए। गम्भीर घाइते डा. रामको हाल आईसीयूमा उपचार भइरहेको छ।
घटनापछि बसेको अस्पताल प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनको संयुक्त बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत डा. प्रमोद राम, डा. रामकिशोर सिंह, स्वास्थ्यकर्मी प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
यस निर्णयको विरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा वीरगञ्जका नारायणी अस्पतालसहित सरकारी, निजी अस्पताल र मेडिकल कलेजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।
नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले चिकित्सकमाथि आक्रमण गर्ने तथा अस्पतालमा तोडफोडमा संलग्न व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ बमोजिम तत्काल मुद्दा दर्ता गरी कडा कारबाही गर्न माग गरेको छ।
संघले निलम्बित पाँचै जना स्वास्थ्यकर्मीको निलम्बन तत्काल फिर्ता लिन, घटनाको छानबिनका लागि गठन गरिएको समिति खारेज गर्न तथा चिकित्सक र स्वास्थ्य संस्थामाथि हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब र चरित्रहत्या हुने गतिविधि रोक्न पनि माग गरेको छ।
त्यसैगरी, चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर, त्रास वा दबाबबिना सुरक्षित वातावरणमा काम गर्न सक्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
संघले आफ्ना माग पूरा नभएसम्म वीरगञ्जका सम्पूर्ण सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवासमेत बन्द गरी आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
यसैबीच, नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको निर्णयप्रति आपत्ति जनाउँदै निलम्बन तत्काल फिर्ता लिन आग्रह गरेको छ।
संघले दोषीमाथि कारबाही नगरे र निलम्बन फिर्ता नगरिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।