वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारेकी छन्।
मन्त्री मेहताले मृतकप्रति गहिरो समवेदना व्यक्त गर्दै अस्पतालजस्तो संवेदनशील र जीवनरक्षक संस्थामा हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताइन्। स्वास्थ्य संस्थामाथिको आक्रमणले समग्र स्वास्थ्य सेवा प्रणाली नै प्रभावित हुने भएकाले सरकारले यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाएको उनको भनाइ छ।
घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग निरन्तर समन्वय गरी आवश्यक पहल अघि बढाएको मन्त्रालयले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न एक जना पक्राउ परिसकेको छ भने अन्य संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ। निष्पक्ष अनुसन्धान गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरेकी छन्।
यस घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था गरिएको मन्त्री मेहताले जानकारी दिएकी छन्। साथै, घटनाको वास्तविक अवस्था बुझ्न, सुरक्षा अवस्थाको मूल्याङ्कन गर्न तथा स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गराउन मन्त्रालयले प्रतिनिधि टोली वीरगञ्ज पठाएको छ।
मन्त्री मेहताले स्वास्थ्यकर्मी सुरक्षित भए मात्र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उल्लेख गर्दै नारायणी अस्पतालमा उपचार सेवा निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिइन्। उनले अस्पताल नागरिकको जीवन बचाउने आशाको केन्द्र भएकाले कुनै पनि असन्तुष्टि वा पीडा हिंसामार्फत व्यक्त गर्न नहुने भन्दै सबै पक्षलाई संयम अपनाउन र कानुनी प्रक्रियामा विश्वास गर्न आग्रह गरेकी छन्।