पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछि जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि गएका चिकित्सक प्रतिनिधिमाथि दुर्व्यवहार र थुनछेक गरिएको आरोपपछि चिकित्सक आन्दोलन थप चर्किएको छ। आन्दोलनका बीच नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिन सुरु गरेका छन् भने नेपाल चिकित्सक सङ्घ (एनएमए) ले मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
शनिबारको घटनापछि आन्दोलन
गत साउन ९ गते वीरगञ्ज महानगरपालिका–२५ निवासी राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्त तथा केही व्यक्तिले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै नारायणी अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका थिए। सोही क्रममा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण हुँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। हाल उनको काठमाडौंमा उपचार भइरहेको छ।
घटनापछि अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै बिरामीको ज्यान बचाउन चिकित्सकहरूले हरसम्भव प्रयास गरेको स्पष्ट पार्दै घटनामा संलग्न दोषीलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९)’ अनुसार कडा कारबाही गर्न माग गरेको थियो।
वार्तामा बोलाएरै दुर्व्यवहार गरेको आरोप
घटनाको समाधानका लागि साउन ११ गते प्रमुख जिल्ला अधिकारी भोला दहालको निमन्त्रणामा नेपाल चिकित्सक सङ्घका केन्द्रीय प्रतिनिधि डा. अमित र नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्तासहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो।
नेपाल चिकित्सक सङ्घका अनुसार आन्दोलनरत चिकित्सकहरूसँग समन्वय नगरी मृतक पक्षलाई समेत राखेर वार्ता गराउन खोजिएपछि चिकित्सकहरूले असहमति जनाएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनको उपस्थितिमा चिकित्सक प्रतिनिधिहरूमाथि दुर्व्यवहार गरिएको, मोबाइल फोन खोसिएको, बाहिरी सम्पर्कबाट अलग पारिएको तथा केही समय प्रशासन कार्यालयभित्रै थुनछेक गरिएको आरोप सङ्घले लगाएको छ।
सङ्घका अनुसार घटनाको खबर फैलिएपछि सयौँ चिकित्सक तथा स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालय पुगेपछि मात्रै वार्ता टोलीलाई बाहिर आउन दिइएको थियो।
सीडीओ र एसपीमाथि कारबाहीको माग
नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यसमितिले सोमबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा चिकित्सक प्रतिनिधिमाथि भएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
सङ्घले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, चिकित्सकमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गर्न तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) माथि विभागीय कारबाही गर्न सरकारसँग माग गरेको छ।
साथै आन्दोलनका क्रममा बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने पनि सङ्घले स्पष्ट पारेको छ।
चिकित्सकको सामूहिक राजीनामा सुरु
आन्दोलन थप चर्किँदै जाँदा नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिन थालेका छन्।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० जना चिकित्सकमध्ये ३० जनाभन्दा बढी चिकित्सकले सोमबार राति करिब १० बजे मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाइसकेका छन्।
उनका अनुसार बाँकी करिब ४० जना चिकित्सकले पनि राजीनामा पत्रमा हस्ताक्षर संकलन गरिरहेका छन्।
चिकित्सकहरूले दोषीमाथि कानुनी कारबाही, अस्पतालमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता तथा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि कारबाहीको माग गर्दै सामूहिक राजीनामाको कदम चालेका हुन्।
आज देशभर आकस्मिकबाहेकका सेवा बन्द
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यबाट दमन भएको आरोप लगाउँदै नेपाल चिकित्सक सङ्घले मंगलबार देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
सङ्घले जारी गरेको विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा नागरिक समाजसँग ऐक्यबद्धता जनाउँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ।
मन्त्रालयको अपिल : सेवा नरोक्न आग्रह
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले कुनै पनि परिस्थितिमा उपचार सेवा अवरुद्ध हुन नहुने उल्लेख गर्दै सबै अस्पताललाई सेवा नियमित सञ्चालन गर्न आग्रह गरिएको छ। साथै, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको मौलिक अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्याउन मन्त्रालयले अपिल गरेको छ।
प्रशासनको भनाइ
यता पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले चिकित्सक प्रतिनिधिलाई थुनछेक गरिएको आरोप अस्वीकार गरेका छन्। उनले वार्ताका लागि सहज वातावरण बनाउने र अस्पतालको सेवा सुचारु गराउने उद्देश्यले मात्र छलफल गरिएको दाबी गरेका छन्।
यद्यपि, चिकित्सक सङ्घ र प्रशासनबीच आरोप–प्रत्यारोप जारी रहेकाले नारायणी अस्पतालको विवाद समाधान हुने संकेत अझै देखिएको छैन। आन्दोलन थप सशक्त बन्ने चेतावनीसँगै यसको प्रभाव देशभरको स्वास्थ्य सेवामा पर्ने देखिएको छ।