आर्थिक अवसरको असमान वितरण र यसले पारेको सबैभन्दा गम्भीर असर मधेशमा देखिएको छ । उद्योग–व्यापारका लागि अनुकूल वातावरणको अभाव र रोजगारी सिर्जनामा देखिएको कमजोरीले नागरिकमा आर्थिक भविष्यप्रतिको विश्वास कमजोर बन्दै गएको हो । स्वदेशमा उद्यम र रोजगारीको अवसर खुम्चिँदा वैदेशिक रोजगारीप्रतिको आकर्षण बढ्नु यसको प्रत्यक्ष प्रभावको रुपमा बाहिर आएको छ ।
पूरक एसियाले मधेश, लुम्बिनी र काठमाडौं उपत्यकाका ११ जिल्लामा गरेको ‘आर्थिक अवसर, रोजगारी र लगानी सर्वेक्षण–२०८२’ ले आर्थिक अवसरको कमीले मधेशका नागरिकमा सबैभन्दा बढी निराशा र असन्तुष्टि बढाएको निष्कर्ष निकालेको छ । वीरगञ्जमा सार्वजनिक गरिएको सर्वेक्षणले आर्थिक अवसरको अभावमात्र नभई उपलब्ध अवसरको असमान वितरणले पनि मधेशका नागरिकमा रोजगारीप्रति अविश्वास पैदा गरेको देखाएको छ ।
रोजगारीप्रति कमजोर विश्वास
मधेशमा केवल ५५ दशमलव १ प्रतिशतले मात्र आफ्नो आम्दानीले घरखर्च धानिरहेको बताएका छन् । आफ्नो पेसा वा व्यवसायप्रति सन्तुष्ट हुनेको संख्या पनि ५५ दशमलव ६ प्रतिशतमा सीमित छ । यसले रोजगारी हुनुमात्र पर्याप्त नभई त्यसबाट सम्मानजनक आम्दानी र सन्तुष्टि प्राप्त हुन नसकेको संकेत गर्छ ।
समग्रमा ८५ दशमलव ७ प्रतिशत नागरिकले देशमा राम्रो रोजगारीको अवसर रहेको भन्नेमा असहमति जनाएका छन् । मधेशमा यो संख्या ८९ दशमलव २ प्रतिशत पुग्नु त्यहाँको निराशा राष्ट्रिय औसतभन्दा सघन रहेको संकेत हो । लुम्बिनीमा ८४ दशमलव ९ प्रतिशत र काठमाडौं उपत्यकामा ८३ दशमलव १ प्रतिशतले पनि देशमा पर्याप्त रोजगारीको अवसर नभएको बताएका छन् ।
अवसरको अभावले वैदेशिक पलायन
सर्वेक्षणमा सहभागी ९२ प्रतिशतले युवाहरू स्वदेशमा अवसर नपाएकै कारण विदेशिएको बताएका छन् । मधेशमा यो धारणा ९६ दशमलव ५ प्रतिशतसम्म पुगेको छ, जसले अवसरको अभावलाई वैदेशिक पलायनको मुख्य कारणका रूपमा स्थापित गरेको छ ।
स्वदेशमा आम्दानीको भरपर्दो अवसर नदेखेपछि परिवारको आर्थिक भविष्यका लागि विदेश नै उपयुक्त विकल्प भएको धारणा पनि मधेशमा सबैभन्दा बढी छ । समग्रमा ६४ प्रतिशत उत्तरदाता यसमा सहमत हुँदा मधेशमा यो संख्या ७८ दशमलव ९ प्रतिशत पुगेको पूरक एसियाका नायब कार्यकारी निर्देशक प्रेम सापकोटाले बताए ।
सीप र अवसरबीच दूरी
देशभर ६२ दशमलव ३ प्रतिशत नागरिकले आफ्नो सीप र ज्ञानअनुसारको रोजगारी वा उद्यम गर्न नपाएको बताएका छन् । मधेशमा यस्तो अनुभव गर्नेको संख्या ६५ दशमलव ७ प्रतिशत छ । लुम्बिनीमा यो ५९ दशमलव ३ प्रतिशत र काठमाडौं उपत्यकामा ६२ दशमलव १ प्रतिशत छ ।
मधेशमा केवल १२ दशमलव ६ प्रतिशतले मात्र आफ्नो सीपअनुसारको अवसर पाएको बताएका छन् । काठमाडौंमा यस्तो अवसर पाउने २७ दशमलव ४ प्रतिशत र लुम्बिनीमा १८ दशमलव ५ प्रतिशत छन् । यसले राजधानी केन्द्रित अवसर र क्षेत्रीय असन्तुलनलाई देखाउँछ ।
उद्यममैत्री वातावरणको अभाव
देशमा रोजगारी सिर्जना हुन नसक्नुको मुख्य कारण उद्यम र व्यापारका लागि अनुकूल वातावरणको अभाव रहेको ६९ दशमलव ३ प्रतिशत नागरिकको धारणा छ । मधेशमा ७३ दशमलव ५ प्रतिशतले उद्यमी बन्ने वातावरण नै नभएको बताएका छन् । लुम्बिनीमा यो संख्या ६३ दशमलव ४ प्रतिशत र काठमाडौं उपत्यकामा ७१ प्रतिशत छ ।
यसले रोजगारीको संकट केवल रोजगारी खोज्नेको समस्या नभई लगानी, उद्योग स्थापना र निजीक्षेत्रको विस्तारसँग प्रत्यक्ष जोडिएको देखाउँछ ।
अवसर पहुँचवालाको नियन्त्रणमा
सर्वेक्षणले आर्थिक अवसरको वितरणप्रति नागरिकको असन्तुष्टि पनि उजागर गरेको छ । ५८ प्रतिशत उत्तरदाताले आर्थिक अवसर मुख्यतः राजनीतिक दलका नेताको नियन्त्रणमा पुगेको बताएका छन् । मधेशमा ५९ प्रतिशतले पनि यही धारणा व्यक्त गरेका छन् ।
आम नागरिकको पहुँचमा अवसर पुगेकोमा केवल १ दशमलव १ प्रतिशतमात्र सहमत छन् । राजनीतिक नेतासम्म पहुँच भएकाले १४ दशमलव ४ प्रतिशत र ठूला व्यापारीले १३ दशमलव ८ प्रतिशत अवसर उपयोग गरिरहेको नागरिकको बुझाइ रहेको अनुसन्धानकर्ता तिलक पाठकले बताए ।
डिग्रीभन्दा सीपप्रति भरोसा
नागरिक अब शैक्षिक प्रमाणपत्रभन्दा व्यवहारिक सीपलाई बढी उपयोगी ठान्न थालेका छन् । केवल २८ दशमलव १ प्रतिशतले उच्च शिक्षालाई राम्रो अवसरसँग जोड्छन् भने कृषिलाई राम्रो पेसा मान्नेको संख्या १९ प्रतिशतमात्रै छ ।
प्राविधिक कामदारका लागि सबैभन्दा बढी ५४ दशमलव ७ प्रतिशतले अवसर देखेका छन् । सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने क्षेत्रमा ४३ दशमलव ३ प्रतिशत र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ४१ प्रतिशतले सम्भावना देखेका छन् । तर, यी सबै क्षेत्रमा पनि मधेशको विश्वास अन्य क्षेत्रको तुलनामा कमजोर देखिएको छ ।
कृषिमा लगानीको अपेक्षा
कृषिमा सबैभन्दा बढी लगानी आवश्यक रहेको नागरिकको धारणा छ । कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत रोजगारी सिर्जना गर्नुपर्ने अपेक्षा बलियो देखिएको छ ।
६८ दशमलव ४ प्रतिशतले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । मधेशमा यो संख्या ७८ दशमलव ९ प्रतिशत छ । शिक्षा क्षेत्रमा ४९ दशमलव ३ प्रतिशत र स्वास्थ्य तथा औषधि क्षेत्रमा ४० दशमलव १ प्रतिशतले थप लगानी आवश्यक रहेको बताएका छन् ।
देशभित्र रोजगारी सिर्जना गर्न ६८ प्रतिशतले ठूला उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने बताएका छन् । ५३ दशमलव ९ प्रतिशतले कृषिको व्यावसायीकरणमा जोड दिए पनि अवसरको दृष्टिले कृषिलाई सबैभन्दा कमजोर क्षेत्रका रूपमा लिइएको छ ।
निराशाबीच आशा
निराशाको वातावरणबीच पनि ५३ दशमलव ३ प्रतिशत उत्तरदाताले आगामी पाँच वर्षमा आफ्नो परिवारको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरेका छन् । यो आशा काठमाडौं उपत्यका र लुम्बिनीमा तुलनात्मक रूपमा बलियो देखिएको छ ।
काठमाडौंमा ६० दशमलव ४ प्रतिशत र लुम्बिनीमा ६० दशमलव ५ प्रतिशतले भविष्यप्रति आशावादी दृष्टिकोण व्यक्त गरेका छन् । मधेशमा भने यस्तो आशा राख्नेको संख्या केवल ३८ दशमलव ८ प्रतिशत छ, जसले आर्थिक अवसरको अभावले भविष्यप्रतिको विश्वाससमेत कमजोर बनाएको संकेत गर्छ । ४५ दशमलव ८ प्रतिशतले आर्थिक विकास र रोजगारी विस्तारका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन् ।
आर्थिक अवसरको विस्तार, उद्योगमैत्री वातावरण, समान पहुँच र राजनीतिक स्थायित्वबिना नागरिकको निराशा कम गर्न कठिन हुने सर्वेक्षणले देखाएको छ ।