पृथ्वीराजमार्गको कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप बढेको छ। साँघुरो, घुमाउरो र पुरानो सडकमा ठूला मालवाहक तथा यात्रुवाहक सवारी साधनको चाप बढ्दा हेटौंडाबाट काठमाडौं पुग्न १० देखि १५ घण्टासम्म लाग्न थालेको छ।
बिहीबार अपराह्न ५ बजे हेटौंडाबाट काठमाडौंका लागि बस चढेकी मानकुमारी लामा आफ्ना दुई छोरासहित शुक्रबार बिहान १० बजे मात्रै कलंकी पुगेकी थिइन्। उनीहरू चढेको बस त्रिभुवन राजपथको सिमभन्ज्याङदेखि टिष्टुङ देउरालीतर्फ अघि बढ्न नसकेपछि लामो समय जाममा परेको थियो।
आँपचौरमा कन्टेनर सडकको डिलमा अड्किएपछि राति करिब ११ बजेदेखि सडक अवरुद्ध भएको थियो। क्रेन र डोजर प्रयोग गरेर कन्टेनर हटाएपछि मात्रै बिहान १० बजे यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।
जामका कारण यात्रुहरूले रातभर बसमै भोकभोकै बस्नुपरेको लामाले बताइन्। जाम भएको स्थान वरपर पसल तथा घरसमेत नभएकाले खानेपानीसमेत पाउन कठिन भएको उनको भनाइ छ।
हाल त्रिभुवन राजपथमा दैनिक ६ हजारभन्दा बढी मालवाहक तथा यात्रुवाहक सवारीसाधन गुडिरहेको डिभिजन सडक कार्यालय हेटौंडाका प्रवक्ता इन्जिनियर यादव सुवेदीले बताए। उनका अनुसार सामान्य अवस्थामा ५०–६० वटा सवारीसाधन मात्र चल्ने यो सडकमा अहिले अत्यधिक चाप परेको हो।
१२ चक्केसम्मका ट्रक तथा ठूला बस साँघुरा घुम्तीमा मोड्नसमेत कठिन हुने गरेका छन्। कतिपय स्थानमा चालकले सवारीसाधनलाई ‘ब्याक’ गरेर मात्रै मोड कटाउनुपर्ने अवस्था रहेको चालकहरू बताउँछन्।
सवारी चापका कारण त्रिभुवन राजपथमा दैनिक ३ देखि ४ घण्टासम्म जाम हुने गरेको छ। कतिपय स्थानमा सडकको पिच उप्किएको, खाल्डाखुल्डी बढेको तथा पुराना संरचनाले ठूलो भार थेग्न कठिन भइरहेको बताइएको छ। हेटौंडादेखि भैंसेसम्मको करिब १२ किलोमिटर दूरी पार गर्नसमेत झण्डै दुई घण्टा लाग्ने गरेको छ।
त्रिभुवन राजपथमा पछिल्ला दिनमा दुर्घटना र सवारी बिग्रिने समस्या पनि बढेको छ। शनिबार बिहान १२ घुम्तीमा एउटा बस बिग्रिएपछि करिब तीन घण्टा सडक अवरुद्ध भएको थियो। सोही दिन नौखण्डेनजिक फलामे डन्डी बोकेको ट्रक सडकबाट तल खसेको थियो।
विसं २०१३ सालदेखि सञ्चालनमा रहेको त्रिभुवन राजपथमा यसरी ठूलो संख्यामा सवारीसाधनको चाप परेको यो पहिलो पटक भएको डिभिजन सडक कार्यालयका प्रवक्ता सुवेदीले बताए। उनका अनुसार सडकको क्षमता र अहिले गुडिरहेका सवारीसाधनको संख्या तथा भारबीच ठूलो असन्तुलन देखिएको छ।
पृथ्वीराजमार्ग दुई सातादेखि कृष्णभीरको पहिरोका कारण अवरुद्ध भएपछि त्रिभुवन राजपथसँगै कान्ति लोकपथ, हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल तथा सिस्नेरी सडकमा समेत सवारी चाप बढेको छ। हेटौंडादेखि थानकोटसम्म त्रिभुवन राजपथको दूरी करिब १३२ किलोमिटर रहेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले पृथ्वीराजमार्ग अवरुद्ध भएपछि १४ सिटभन्दा बढी क्षमताका यात्रुवाहक सवारीसाधन तथा मालवाहक ट्रकलाई त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउने व्यवस्था गरेको छ। साना सवारीसाधनलाई भने भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं पठाउने गरिएको छ।
पुरानो र साँघुरो सडकमा आधुनिक तथा ठूला सवारीसाधनको चाप एकाएक बढ्दा त्रिभुवन राजपथ अहिले वैकल्पिक मार्गभन्दा बढी जोखिमपूर्ण यात्रा मार्ग बन्न थालेको छ।