पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारी साधनका लागि नयाँ ट्राफिक व्यवस्था लागू गरेको छ।
वैकल्पिक सडकमा सवारीको चाप अत्यधिक बढेपछि दुर्घटनाको जोखिम न्यूनीकरण तथा यातायात आवागमनलाई सहज बनाउन भदौ १६ गतेदेखि नयाँ व्यवस्था लागू हुने प्रशासकीय अधिकृत सन्तोष सुवेदीद्वारा जारी सूचनामा जनाइएको छ।
प्रशासनका अनुसार १० चक्केसम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधन काठमाडौँतर्फ जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ भने फर्किँदा कान्ति राजमार्ग हुँदै हेटौँडा आउनुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौँडा फर्कने यात्रुवाहक सवारीले साँझ ६ बजेभित्र इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधन हेटौँडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ। काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न प्रशासनले निर्देशन दिएको छ।
यसैगरी, मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिज कमजोर भारवहन क्षमताको रहेकाले इन्धन तथा भारी मालवाहक सवारी साधनलाई उक्त पुल प्रयोग गर्न रोक लगाइएको छ। त्यस्ता सवारीले पुलसँगै रहेको डाइभर्सन प्रयोग गर्नुपर्नेछ।
विपद्जन्य अवस्था रहेकाले प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सडकमा ओभरटेक नगर्न, धैर्यता तथा अनुशासन कायम राख्न र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न चालक, यातायात व्यवसायी तथा यात्रुहरूलाई आग्रह गरेको छ।