अमेरिकाले शनिबार राति इरानका तटीय निगरानी तथा हवाई प्रतिरक्षा संरचनालाई लक्षित गर्दै फेरि हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आक्रमणबाट इरानका सैन्य क्षमतामा क्षति पुगेको दाबी गरेको छ।
सेन्टकमका अनुसार फारसी खाडीको प्रवेशद्वार मानिने होर्मुज जलडमरूमध्यको सुरक्षा प्रणालीसँग सम्बन्धित संरचनासहित अमेरिकी सैनिकमाथि आक्रमणमा संलग्न रहेको आरोप लगाइएको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का लक्ष्यमा पनि प्रहार गरिएको हो। इरानी सरकारी सञ्चारमाध्यमले भने होर्मुज जलडमरूमध्यस्थित किश्म (Qeshm) टापुमा आक्रमण भएको पुष्टि गरेका छन्।
यसअघि शुक्रबार जोर्डनमा भएको इरानी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो भने एक सैनिक अझै बेपत्ता रहेको सेन्टकमले जनाएको छ। मृतक सैनिकका परिवारलाई जानकारी नदिइएसम्म उनीहरूको परिचय सार्वजनिक नगरिने पनि सेन्टकमले स्पष्ट पारेको छ।
अमेरिकी आक्रमणपछि इरानले पनि जवाफी कारबाहीस्वरूप कुवेतस्थित दुई अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ। आईआरजीसी निकट तस्निम समाचार एजेन्सीका अनुसार इरानले क्याम्प उदैरी र अली अल सलिम एयर बेसलाई लक्षित गर्दै ‘आत्मघाती ड्रोनमार्फत व्यापक आक्रमण’ गरेको हो।
अमेरिका र इरानबीच पछिल्ला केही दिनयता लगातार आक्रमण र प्रतिआक्रमण भइरहेका छन्। दुवै देशले एकअर्कामाथि महत्वपूर्ण पूर्वाधारमा हमला गरेको आरोप लगाएका छन्।
सेन्टकमले पछिल्लो हवाई आक्रमण लगातार आठौं रात गरिएको कारबाही भएको उल्लेख गर्दै यसको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजलाई खतरा पुर्याउने इरानको क्षमता कमजोर बनाउनु रहेको जनाएको छ।
यसअघि जुन महिनामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमति भएको थियो। तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि र इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेपछि उक्त युद्धविराम केही सातामै भंग भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ८ मा उक्त सहमति समाप्त भएको घोषणा गरेका थिए।
यसैबीच, अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले जोर्डनमा मारिएका सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानले अमेरिकाको संकल्प अझ बलियो बनाएको बताएका छन्।
यस संघर्षमा बेपत्ता रहेका एक अमेरिकी नौसेना पाइलटलाई पनि मृत घोषणा गरिएसँगै हालसम्म युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ।