शिक्षाविद् तथा जलवायु अभियन्ता सोनम वाङ्चुकलाई स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएलगत्तै ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले शनिबारदेखि अनिश्चितकालीन अनशन सुरु गरेका छन्।
दिपकेले सामाजिक सञ्जाल एक्समार्फत वाङ्चुकको आन्दोलन निरन्तर रहने जनाउँदै जुलाई २० मा तय गरिएको ‘चलो संसद’ मार्च पूर्वनिर्धारित कार्यक्रमअनुसार नै हुने बताएका छन्।
वाङ्चुकलाई अस्पताल लैजाने विषयमा विवाद
वाङ्चुकलाई अस्पताल लगिएको विषयमा आन्दोलनकारी र दिल्ली प्रहरीबीच फरक–फरक दाबी गरिएको छ।
दिल्ली प्रहरीले दिल्ली उच्च अदालतको आदेश र चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य अवस्था बिग्रिएपछि वाङ्चुकलाई उपचारका लागि सफदरजंग अस्पताल लगिएको जनाएको छ। तर सीजेपीले भने जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि लाठीचार्ज गरिएको र वाङ्चुकलाई जबर्जस्ती अस्पताल लगिएको आरोप लगाएको छ।
यसअघि दिपकेले आफूलाई पनि प्रहरीले कुटपिट गरी नियन्त्रणमा लिएको दाबी गरेका थिए। यद्यपि दिल्ली प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ।
स्वास्थ्य अवस्था स्थिर
अनिश्चितकालीन अनशनको २१औँ दिन स्वास्थ्य अवस्था कमजोर भएपछि वाङ्चुकलाई शनिबार सफदरजंग अस्पताल भर्ना गरिएको हो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा लामो समयको उपवास र शरीरमा पानीको कमीका कारण उनी कमजोर बने पनि हाल स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। चिकित्सकहरूको निरन्तर निगरानी, उपचार तथा शरीरका आवश्यक जैविक सूचकहरू सामान्य अवस्थामा ल्याउन थप उपचार आवश्यक रहेको अस्पतालले उल्लेख गरेको छ।
दिल्ली प्रहरीले पनि अदालतको आदेश पालना गर्दै आवश्यक स्वास्थ्य उपचारका लागि वाङ्चुकलाई अस्पताल सारिएको स्पष्ट पारेको छ। अस्पताल लैजाँदा केही प्रदर्शनकारीले अवरोध सिर्जना गरे पनि प्रहरीले संयमता अपनाएर प्रक्रिया सम्पन्न गरेको दाबी गरेको छ।
पत्नीको आग्रह
वाङ्चुककी पत्नी गीताञ्जली जे आङ्मोले अस्पताल प्रशासनलाई परिवार र विगत २० दिनदेखि स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकको सहमतिबिना कुनै पनि औषधि वा सलाइन नदिन आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो अनुमति बिना कुनै पनि मौखिक वा नसामार्फत उपचार नगराउन अनुरोध गर्दै त्यसो भए सम्बन्धित सबैलाई जिम्मेवार ठहर गरिने चेतावनी दिएकी छन्।
आन्दोलन जारी
वाङ्चुक र सीजेपीले जन्तर–मन्तरमा कथित परीक्षा अनियमितता तथा नीट–यूजी (NEET-UG) प्रश्नपत्र चुहावट प्रकरणको निष्पक्ष छानबिन र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका छन्।
सीजेपीले संसद्को मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा शान्तिपूर्ण ‘चलो संसद’ मार्च आयोजना गर्ने कार्यक्रम यथावत् रहेको जनाएको छ।