अमेरिकाले स्ट्रेट अफ हर्मुज हुँदै गुडिरहेको एक व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेपछि इरानका सैन्य संरचनामाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ। त्यसपछि इरानले अमेरिकाका क्षेत्रीय सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको दाबी गरेको छ, जसले मध्यपूर्वमा तनाव थप चुलिएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको एमभी जीएफएस ग्यालेक्सी नामक जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमण गरेपछि अमेरिका तेस्रो चरणको सैन्य कारबाहीमा उत्रिएको हो। आक्रमणबाट जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेको, एक चालकदल सदस्य बेपत्ता भएको र बाँकी सदस्यहरूले लाइफबोटमार्फत जहाज छाड्न बाध्य भएको सेन्टकमले जनाएको छ।
सेन्टकमका अनुसार अमेरिकाले यसपटक इरानका १४० सैन्य लक्ष्य मा आक्रमण गरेको छ। ती लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन प्रक्षेपण स्थल, सञ्चार सञ्जाल तथा तटीय निगरानी केन्द्रहरू रहेका छन्।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले पनि जहाजका चालकदल सदस्यहरूलाई लाइफबोटमार्फत सुरक्षित स्थानमा लगिएको जानकारी दिएको छ।
यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले स्ट्रेट अफ हर्मुज अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ। साथै, अमेरिकाबाट हुने कुनै पनि थप सैन्य कारबाहीको कडा जवाफ दिइने चेतावनी पनि दिएको छ।
इरानले आफ्नो प्रतिआक्रमणको पहिलो चरणमा जोर्डनस्थित प्रिन्स हसन एयर बेस मा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको दाबी गरेको छ। सो आक्रमणमा कमान्ड तथा नियन्त्रण केन्द्र र एमक्यू–९ ड्रोन राख्ने ह्याङ्गर ध्वस्त भएको इरानको दाबी छ।
यसका साथै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले पनि इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनविरुद्ध प्रतिरक्षात्मक कारबाही गरिरहेको बताएका छन्।
व्यापारिक जहाजमाथि आक्रमणपछि तनाव बढ्यो
यसअघि यही साता ओमानको समुद्री क्षेत्रमा अमेरिका सिफारिस गरेको मार्ग हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। त्यसपछि अमेरिका र इरानबीच एकपछि अर्को सैन्य आक्रमण भएको हो।
इरानले आफ्नै समुद्री मार्गलाई मात्र सुरक्षित बताउँदै आएको छ भने अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्ग खुला राख्नुपर्ने अडान दोहोर्याउँदै आएको छ।
वार्तामाथि अनिश्चितता
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले "गलत निर्णय गरेको" भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन्।
यता, इरानका संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत "एकतर्फी सम्झौताको युग समाप्त भएको छ" भन्दै अमेरिका आफ्नो प्रतिबद्धताबाट पछि हटे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तनाव बढे पनि कूटनीतिक वार्ता पूर्ण रूपमा अन्त्य नभएको र मध्यस्थकर्तामार्फत संवाद पुनः सुरु गर्ने प्रयास भइरहेको बताएका छन्।
नयाँ सर्वोच्च नेताको प्रतिशोधको चेतावनी
इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनेईसहित युद्धमा मारिएका सबैको बदला लिइने चेतावनी दिएका छन्।
उनले राष्ट्रलाई सम्बोधन गर्दै प्रतिशोध राष्ट्रको इच्छा भएको उल्लेख गर्दै दोषीहरूमाथि कारबाही अवश्य हुने बताएका छन्।
यस घटनाक्रमसँगै विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा सुरक्षा चुनौती झन् बढेको छ। यसले अन्तर्राष्ट्रिय तेल आपूर्ति, विश्व व्यापार तथा मध्यपूर्वको सुरक्षा अवस्थामाथि गम्भीर असर पार्न सक्ने आकलन गरिएको छ।