हर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ। त्यसको जवाफस्वरूप इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले मध्यपूर्वमा तनाव थप चुलिएको छ।
हर्मुज जलडमरूमध्यमा तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप संयुक्त राज्य अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार गरिएको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना सैन्य डुंगा, मिसाइल प्रक्षेपण स्थल तथा कमाण्ड सेन्टरहरूलाई निशाना बनाइएको हो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमण क़ेश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ। आक्रमणका क्रममा छर्रा लागेर केही सर्वसाधारण घाइते भएका छन्। यद्यपि, तीनवटा तेल ट्यांकरमाथि भएको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन।
यसैबीच, आईआरजीसीले बुधबार बिहान बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा जवाफी मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीका अनुसार अमेरिकी नौसेनाको मुख्यालयसहित बहराइन र कुवेतका ८५ वटा महत्वपूर्ण अमेरिकी सैन्य संरचनालाई निशाना बनाइएको थियो।
अमेरिकी आक्रमणअघि इरानका उपविदेशमन्त्रीले गत महिना अमेरिका र इरानबीच भएको समझदारी (मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ) को उल्लंघन भएको आरोप लगाउँदै तेहरानले "निर्णायक कदम" चाल्ने चेतावनी दिएका थिए।
अमेरिकाले भने अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालकदलसहितका व्यावसायिक जहाजमाथि भएको आक्रमणलाई "पूर्ण रूपमा अस्वीकार्य" भन्दै त्यसको मूल्य इरानले चुकाउनुपर्ने जनाएको छ।
सेन्टकमका अनुसार व्यावसायिक जहाजहरूको सुरक्षामाथि आक्रमण गर्ने पक्षलाई ठूलो क्षति पुर्याउने उद्देश्यले सैन्य कारबाही गरिएको हो।
यसअघि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने छुटसमेत रद्द गरेको थियो। उक्त व्यवस्था अमेरिका–इरानबीच गत महिना सम्पन्न १४ बुँदे समझदारीको हिस्सा थियो।
इरानको विदेश मन्त्रालयले अमेरिकाको उक्त निर्णयलाई समझदारीको उल्लंघन भएको बताउँदै यसले अमेरिकाको "खराब नियत, अस्थिरता र अविश्वसनीयता" प्रमाणित गरेको प्रतिक्रिया दिएको छ। मन्त्रालयले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको संरक्षणका लागि आवश्यक सबै कदम चालिने पनि स्पष्ट पारेको छ।
यस घटनापछि कतार र साउदी अरेबियाले पनि आफ्ना तेल ट्यांकरहरू हर्मुज जलडमरूमध्य नजिक आक्रमणमा परेको भन्दै इरानको आलोचना गरेका छन्।
कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अल–रेकय्यात नामक ट्यांकरमाथि भएको आक्रमणका लागि इरानलाई पूर्ण रूपमा जिम्मेवार ठहर गरेका छन्।
यता साउदी अरबको विदेश मन्त्रालयले पनि वादियान नामक साउदी तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ।
तर इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले कतारको आरोपलाई "असल छिमेकी सम्बन्धको सिद्धान्तविपरीत" भएको टिप्पणी गरेका छन्। उनले इरानसँग समन्वय नगरी वा जहाजको ट्र्याकिङ प्रणालीमा छेडछाड गर्दै आवतजावत गर्ने जहाजहरूले दुर्घटनाको जोखिम निम्त्याउने तथा सुरक्षित आवागमन व्यवस्थापनमा अवरोध पुर्याउने दाबी गरेका छन्।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (UKMTO) का अनुसार सोमबार हर्मुज जलडमरूमध्य हुँदै गइरहेको एउटा ट्यांकरको इन्जिन कक्षमा अज्ञात प्रक्षेप्य लागेपछि आगलागी भएको थियो। मंगलबार पनि दुई छुट्टाछुट्टै घटनामा दुईवटा ट्यांकरमा क्षति पुगेको जनाइएको छ।
तनावका बीच पनि अमेरिकी अधिकारीहरूले इरानसँग अन्तिम सम्झौताका लागि कूटनीतिक वार्ता "सद्भावका साथ" जारी रहने बताएका छन्।
गत महिना अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीले युद्धविराम लम्ब्याउने तथा सबै मोर्चामा द्वन्द्व अन्त्य गर्ने लक्ष्य लिएको थियो। सोही समझदारीअनुसार हर्मुज जलडमरूमध्यको भविष्यको प्रशासन र समुद्री सेवा व्यवस्थापनबारे इरान, ओमान तथा अन्य खाडी राष्ट्रहरूबीच थप छलफल हुने व्यवस्था गरिएको छ।
यसअघि द्वन्द्वका क्रममा इरानले हर्मुज जलडमरूमध्यमाथि आफ्नो सार्वभौम अधिकार जोड दिँदै "पर्सियन गल्फ स्ट्रेट अथोरिटी" गठन गरेको घोषणा गरेको थियो। इरानी सञ्चारमाध्यमका अनुसार नयाँ समझदारी कार्यान्वयन भएमा जलडमरूमध्यको व्यवस्थापन इरान र ओमानको समन्वयमा हुने तथा जहाजहरूबाट सेवा शुल्क समेत लिन सकिने व्यवस्था हुन सक्ने उल्लेख गरिएको छ।