भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक जियो प्लेटफर्म्स र विश्वकै सबैभन्दा ठूलो डेरिभेटिभ एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज (एनएसई) यसै वर्ष प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने तयारीमा छन्। यी दुई कम्पनीको आईपीओलाई भारतको पूँजी बजार इतिहासकै सबैभन्दा महत्वपूर्ण सूचीकरणमध्ये एक मानिएको छ।
भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको डिजिटल कम्पनी जियो र नेशनल स्टक एक्सचेञ्ज (एनएसई) ले गत महिना केही दिनको अन्तरमै आईपीओका लागि आवश्यक प्रारम्भिक कागजात नियामक निकायमा बुझाएका हुन्।
जियोले करिब ४ अर्ब अमेरिकी डलर बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। कम्पनीको मूल्यांकन १२० अर्बदेखि १६० अर्ब अमेरिकी डलरसम्म हुने अनुमान गरिएको छ। यस्तै, एनएसईले करिब ६ प्रतिशत सेयर बिक्रीमार्फत ३.३ अर्ब अमेरिकी डलर उठाउने योजना बनाएको छ, जसअनुसार एक्सचेञ्जको अनुमानित मूल्य ५७ अर्ब अमेरिकी डलर हुनेछ।
विश्लेषकहरूका अनुसार यी आईपीओले भारतको समग्र बजार पूँजीकरणलाई उल्लेखनीय रूपमा बढाउने मात्र नभई भारतीय अर्थतन्त्रमा पछिल्लो दशकमा आएको डिजिटल तथा वित्तीय परिवर्तनको स्पष्ट प्रतिबिम्ब पनि प्रस्तुत गर्नेछन्।
जियोले बदल्यो भारतको डिजिटल जीवनशैली
सन् २०१६ मा दूरसञ्चार क्षेत्रमा प्रवेश गरेको जियोले अत्यन्तै सस्तो डेटा सेवा उपलब्ध गराउँदै भारतको इन्टरनेट प्रयोगमा क्रान्ति ल्याएको थियो। त्यसबेला १७ कम्पनी रहेको भारतीय दूरसञ्चार बजार अहिले सीमित प्रतिस्पर्धीमा झरेको छ।
एक दशकअघि करिब २० करोड भारतीयले मात्र इन्टरनेट प्रयोग गर्ने गरेकामा अहिले यो संख्या एक अर्ब नजिक पुगेको छ। तीमध्ये ५२ करोड ५० लाखभन्दा बढी ग्राहक जियोसँग आबद्ध छन्।
सस्तो इन्टरनेट सेवाकै कारण भारत विश्वमै सबैभन्दा धेरै मोबाइल डेटा प्रयोग गर्ने देश बनेको छ। जियोका प्रयोगकर्ताले डिजिटल भुक्तानी, अनलाइन किनमेल, भिडियो स्ट्रिमिङ तथा सामाजिक सञ्जालको प्रयोग उल्लेखनीय रूपमा बढाएका छन्।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीमार्फत सन् २०२५ मा २२८ अर्बभन्दा बढी डिजिटल कारोबार भएको तथ्यांकले डिजिटल अर्थतन्त्रको तीव्र विस्तारलाई देखाउँछ।
एनएसईले झल्कायो लगानी संस्कृतिको विस्तार
कोभिड–१९ महामारीपछि भारतमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। सस्तो इन्टरनेट र स्मार्टफोनको पहुँचका कारण अनलाइन ट्रेडिङ खाताको संख्या करिब ३ करोडबाट बढेर २० करोडभन्दा बढी पुगेको छ।
४.८५ ट्रिलियन अमेरिकी डलर मूल्यको भारतीय सेयर बजारको प्रमुख आधारका रूपमा रहेको एनएसई विश्वको चौथो ठूलो पुँजी बजार सञ्चालन गर्ने संस्थामध्ये एक हो। यसको प्लेटफर्ममा हुने प्रत्येक कारोबारबाट कम्पनीले आम्दानी गर्ने भएकाले कारोबारको मात्रा बढेसँगै यसको नाफा पनि निरन्तर वृद्धि भइरहेको छ।
लामो समयदेखि विभिन्न प्रशासनिक तथा सुशासनसम्बन्धी विवादका कारण रोकिएको एनएसईको आईपीओलाई भारतीय पूँजी बजार परिपक्व बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
दूरसञ्चारबाट एआई पूर्वाधारतर्फ जियो
जियो अब केवल दूरसञ्चार कम्पनीमा सीमित नरही डिजिटल तथा कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार निर्माणमा समेत केन्द्रित भएको छ।
कम्पनीले एनभिडिया र मेटासँग सहकार्य गर्दै डेटा सेन्टर निर्माण तथा भारतीय भाषामा आधारित ठूलो भाषा मोडल (एलएलएम) विकास गर्ने योजना अघि बढाएको छ।
साथै डेटा उपभोग वृद्धि, महसुल समायोजन र पोस्टपेड सेवाको विस्तारमार्फत जियोले अब बजार विस्तारभन्दा आम्दानी वृद्धि रणनीतिमा जोड दिएको विश्लेषकहरूको भनाइ छ।
विदेशी लगानी आकर्षित गर्ने अपेक्षा
विशेषज्ञहरूका अनुसार जियो र एनएसईको सूचीकरणले भारतको नयाँ अर्थतन्त्रका दुई प्रमुख आधारस्तम्भलाई सार्वजनिक लगानीका लागि खुला गर्नेछ। यसले विदेशी लगानीकर्तालाई भारतीय अर्थतन्त्रका तीव्र गतिमा विस्तार भइरहेका क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
तर पछिल्लो एक वर्षयता भारतीय सेयर बजारबाट विदेशी लगानी बाहिरिनु, भारतीय रुपैयाँ कमजोर हुनु तथा केही चर्चित आईपीओ अपेक्षाअनुसार सफल हुन नसक्दा लगानीकर्ताको आत्मविश्वास केही कमजोर बनेको छ।
विश्लेषकहरूका अनुसार यी दुई आईपीओको सफलता अन्ततः कम्पनीहरूको मूल्यांकन र सेयरको मूल्य निर्धारणमा निर्भर हुनेछ। बलियो व्यवसाय भए पनि अत्यधिक मूल्यमा आईपीओ जारी गरिए लगानीकर्ताले अपेक्षित प्रतिफल नपाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।