मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा नीतिगत निर्णयसँगै स्वदेशी उत्पादन प्रवर्द्धनको सन्देशसमेत दिइएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रयोग र प्रवर्द्धनमा जोड दिएकी हुन्।
मन्त्री चौधरीले वितरण गरेको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा समावेश गरिएको थियो। सरकारी स्वामित्वको संस्थानका उत्पादनलाई प्रोत्साहन गर्ने र नेपाली किसानबाट संकलित दूधको बजार विस्तारमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ।
मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको छ। मन्त्री चौधरीले नेपाली किसानको उत्पादनको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाटै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्।
उनले डीडीसीलाई थप प्रतिस्पर्धी, आधुनिक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। साथै स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हितका लागि सरकारी नेतृत्वले नै उपभोग र प्रवर्द्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखिन्।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि डीडीसीका उत्पादनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देश दिएका छन्। उनले स्वदेशी उत्पादनको उपयोग बढाउनुपर्नेमा जोड दिँदै नेपाली उत्पादनप्रति नागरिकको विश्वास र आकर्षण बढाउन सरकार निरन्तर लागिपर्ने बताएका छन्।
यसअघि पनि प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा डीडीसीका उत्पादनको प्रचार गर्दै स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिन नागरिकलाई आग्रह गरेका थिए।
दशकौँदेखि नेपाली उपभोक्तालाई दूध, घिउ, दही, पनिर तथा चिजजस्ता गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीलाई मन्त्रिपरिषद्को प्रत्यक्ष समर्थन प्राप्त भएपछि संस्थानको बजार विस्तार र ब्रान्ड प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भका रूपमा विकास गर्ने रणनीति अन्तर्गत यस्तो पहललाई निरन्तरता दिने संकेत गरेको छ।