डा. लक्ष्मी थापा
स्त्री तथा प्रसूति रोग विशेषज्ञतनाव हुने तत्वलाई घटाउनु पर्छ
सुर्तीजन्य पदार्थ सेवन गर्ने समूहको मानसिक अवस्थाबारे बुझ्नु पर्छ । चेतना फैलाउने, स्वास्थ्यको हिसाबले फाईदा र बेफाईदाबारेमा सम्झाउनु पर्छ । लामो समयसम्म सुर्तीजन्य पदार्थ सेवन गर्दा स्वास्थ्य र आर्थिक अवस्थामा पनि असर पर्छ । सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसलाई समाजमा पनि हेलाको दृष्टिकोणले हेर्ने भएकोले समाजिक सद्भावको खाँचो छ । कुनै पनि कुरामा लतमा लागेको मानिसलाई एकै पटक छुटाउन सकिदैन । आत्मबल बलियो भएको मानिसले मात्र एकै पटक लत छाड्न सक्छ । प्रायः मानिसहरुले बिस्तारैबिस्तारै छाड्ने भएकोले व्यवहारमा परिवर्तन गर्नुपर्ने हुन्छ । तल्तल लागेमा तल्तल लागेको मेटाउन ल्वाङ, सुकुमेल, दालचिनी, छुर्पी मुखमा राख्ने गर्नुपर्छ । ढिलोसम्म काम गर्ने भएकाले निद्रा भगाउन पनि सुर्तीजन्य पदार्थको सेवन गर्छन् । त्यसैले राम्रोसँग सुत्नु पर्छ । तनाब बढेमा पनि कति मानिसहरुको सुर्तीजन्य पदार्थको सेवन धेरै गर्छन् । तनाव के कारणले भइरहेको छ । तनाव हुने तत्वलाई घटाउनु पर्छ । तनावको समाधानकतर्फ जानुपर्छ । तनाव भयो भन्दैमा सुर्तीजन्य पदार्थको सेवन गरेर स्वास्थ्यलाई बिगार्ने र आर्थिक समस्या बढाउने काम गर्नु हुँदैन । सुर्तीजन्य पदार्थ छोड्न चाहने मानिसलाई कुनै विशेष दिन पारेर छोड्छु भनेर परिवारलाई र साथीहरूलाई जानकारी गराउनु पर्छ । कदाचित सुर्तीजन्य पदार्थ सेवन गर्न थाले पनि साथीभाई परिवार सहयोगी भइदिनाले लत छुट्न सजिलो हुन्छ । गर्भवती महिलाले चुरोट, बिँडी, सुर्ती, खैनी, गुट्खा वा अन्य तमाखुजन्य प्रदार्थको प्रयोगले आमा र बच्चा दुवै लाई हानी हुन्छ । रक्तचाप बढ्ने, गर्भ खेर जाने, समयभन्दा अगाडि बच्चा जन्मिने, अत्याधिक रक्तश्रावको जोखिम बढ्ने, सास फेर्न समस्या हुने, मुटुसम्बन्धी समस्या हुने, बच्चाले पर्याप्त अक्सिजन नपाउने, बच्चाको तौल कम हुन्छ । बच्चा कमजोर र समय अघि जन्मिन सक्छ । बच्चा जन्मिएपछि सासको समस्या र बारम्बार बिरामी हुने सम्भावना बढ्छ । गर्भवती महिलाले चुरोट आफैं नखाए पनि अरूले उडाएको धँुवाले पनि गर्भको बच्चालाई असर गर्छ ।
देवेश मानव सेवा (संस्थापक)
मानव सेवा आश्रम, वीरगञ्ज शाखाध्यान र प्राणायाम जोड दिनुपर्छ
सुर्तीजन्य वस्तुको प्रयोग नियन्त्रण गर्नका लागि व्यक्ति, परिवार, विद्यालय, समाज र सरकारले मिलेर काम गर्नुपर्छ । यो सुर्तीजन्य वस्तु प्रयोग गर्दा यसबाट हुने हानीबारे जनचेतना फैलाउनु पर्छ । सार्वजनिक स्थलमा खान नदिन सरकारले नियम बनाउनुपर्छ साथै युवाहरूलाई उनीहरूको खाली समयमा उनीहरूलाई मनपर्ने खेल, योगा, ध्यान र प्राणायाम जोड दिनुपर्छ । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने मानिसलाई अचानक छोड्न एकदमै गाह्रो हुन्छ । किनभने उनीहरूलाई त्यसको बानी परिसकेको हुन्छ र त्यो नखाँदा उनीहरूलाई छटपटी हुनेजस्ता अनेक क्रियाकलाप गर्ने भएकोले यसलाई अत्यन्तै चुनौती रहेको छ । सुर्तीजन्य पदार्थको लतबाट छुटाउनका लागि सबैभन्दा पहिला प्रयोगकर्ताले आफूले नै छोड्छु भन्ने इच्छाशक्ति जगाउन्ु पर्छ । उसलाई इच्छाशक्तिका साथै राम्रो परामर्शको आवश्यकता हुन्छ । उसले आफ्नो स्वस्थ जीवनशैली अपनायो र समाजको व्यक्तिले पनि त्यसअनुरुप उसलाई सहयोग ग¥यो भने उसले सजिलै छोड्न सक्छ ।
डा. परवेज आलम अन्सारी
इन्टरनल मेडिसिन कन्सल्टेन्ट फिजिसियन
नेशनल मेडिकल कलेज
सुर्तीजन्य वस्तुविरुद्ध अभियान जरुरी
आजको समयमा सुर्तीजन्य बस्तु जस्तै चुरोट, बिँडी, खैनी, गुट्खा, सुर्ती तथा ईसिगरेटको प्रयोग विश्वव्यापी समस्याको रूपमा देखा परेको छ । नेपालमा पनि विशेषगरी युवापुस्ता र किशोरकिशोरीहरूमा यसको प्रयोग बढ्दै गएको देखिन्छ । जुन अत्यन्त चिन्ताजनक विषय हो । चिकित्सकको दृष्टिकोणबाट हेर्दा सुर्तीजन्य वस्तुको नियन्त्रण केवल व्यक्तिगत स्वास्थ्यको विषय नभई परिवार, समाज र राष्ट्रको भविष्यसँग जोडिएको मुद्दा हो । सुर्तीजन्य वस्तुको प्रयोग नियन्त्रण गर्न सर्वप्रथम जनचेतना अभिवृद्धि आवश्यक छ । विद्यालय, कलेज तथा समुदायस्तरमा नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनुपर्छ । सार्वजनिक स्थानमा धूमपान निषेधको कडाईका साथ कार्यान्वयन, सुर्तीजन्य वस्तुमा उच्च कर, विज्ञापन प्रतिबन्ध तथा बिक्री नियन्त्रणले यसको प्रयोग घटाउन महत्वपूर्ण भूमिका खेल्छ । परिवारको साथ, परामर्श सेवा तथा निकोटिन रिप्लेसमेन्ट थेरापीजस्ता उपचार विधिले लत छुटाउन सहयोग पु¥याउँछ । यसको असर महिलाहरूमा विशेष रूपमा गम्भीर देखिन्छ । गर्भवती महिलाले धूमपान वा परोक्ष धूमपानको असर भोग्दा गर्भपतन, कम तौलको शिशु जन्मिने तथा शिशु मृत्युको जोखिम बढ्छ । बालबालिकामा दम, निमोनिया, कानको संक्रमण र मानसिक विकासमा असर पर्न सक्छ । परिवारमा आर्थिक भार बढ्ने, घरायसी तनाव तथा अस्वस्थ वातावरण सिर्जना हुने समस्या पनि बढ्छ । समाजमा सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मुटुरोग, स्ट्रोक तथा दीर्घ श्वासप्रश्वास रोगका बिरामीको संख्या बढाउँदै स्वास्थ्य प्रणालीमा ठूलो दबाब सिर्जना गरेको छ । त्यसैले स्वस्थ समाज निर्माणका लागि प्रत्येक नागरिक, परिवार, विद्यालय र सरकारी निकायले संयुक्त रूपमा सुर्तीजन्य वस्तुविरुद्ध अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो ।
प्रियंका झा
(समाजसेवी)मानसिकरुपमा तयार हुनु पर्दछ
धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने हरेक व्यक्तिलाई थाहा भए पनि नेपालसहित विश्वभर कुनै न कुनै बाहानामा धेरै व्यक्तिहरू सुर्तीजन्य पदार्थ सेवनको लतमा फसेका छन् । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने असरको बारेमा जनचेतना फैलाउने काम गर्नु पर्दछ । सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा कम गर्ने नीति नियम बनाउनु पर्दछ । विश्व सुर्तीजन्य पदार्थरहित दिवस विविध कार्यक्रम गरी मनाइन्छ । हालसम्म सुर्तीजन्य पदार्थमा ४ हजारभन्दा बढी रसायनहरू भेटिइसकेको छ । २५० रसायन हानीकारक छन् भने ५० भन्दा बढीले क्यान्सर गराउँछन् । गर्भवती आमाले सुर्तीजन्य पदार्थको सेवन गरेमा गर्भ खेर जाने, मरेको बच्चा जन्मिने, समय नपुगी जन्मिने, कम तौल भएको बच्चा जन्मिने तथा शिशुको शारीरिक तथा मानसिक विकासमासमेत असर गर्दछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूको मुख गन्हाउँछ । आत्मैदेखि र मानसिक रुपमा तयार भयो भने सहजै लत छुटाउन सकिन्छ । लत छुटाउन दैनिकरुपमा सेवन घटाउँदै जानुपर्छ । आफ्नो योजनालाई परिवारका सदस्य, अफिसका साथीहरू, कलेजका साथीहरूलगायत आफ्नो नजिकमा सम्पूर्ण व्यक्तिहरूलाई सुनाउनु पर्छ । छुर्पी, चकलेट आदिले मुखलाई व्यस्त बनाइराख्नु पर्छ । बिहान साँझ कसरत गर्ने, फलफूल बढी खाने, पानी धेरै पिउने गर्नु पर्दछ ।