भारतमा केही दिनअघि मात्रै सुरु गरिएको व्यंग्यात्मक राजनीतिक अभियान “ककरोच जनता पार्टी (सीजेपी)” ले सामाजिक सञ्जाल इन्स्टाग्राममा भारतीय जनता पार्टी (भाजपा) लाई पछाडि पार्दै नयाँ चर्चा सिर्जना गरेको छ ।
मिम र व्यंग्यप्रधान शैलीमा सुरु गरिएको उक्त अभियानले बुधबारसम्म इन्स्टाग्राममा १ करोड १ लाखभन्दा बढी फलोअर पुर्याएको दाबी गरेको छ । जबकि भारतीय जनता पार्टीको आधिकारिक इन्स्टाग्राम खातामा करिब ८७ लाख फलोअर रहेका छन् ।
केवल चार दिनअघि सुरु भएको यो अभियानले भारतीय इन्टरनेट राजनीतिमा नयाँ बहस जन्माएको विश्लेषण गरिएको छ । सामाजिक सञ्जालमा आक्रोश र व्यंग्यबाट जन्मिएको अभियानले अहिले भारतको सबैभन्दा शक्तिशाली राजनीतिक दलमध्ये एकसँग डिजिटल प्रतिस्पर्धा गर्न थालेको छ ।
सीजेपीले उक्त उपलब्धिपछि सामाजिक सञ्जालमा लेखेको छ, “केवल चार दिन लाग्यो । युवाशक्तिलाई कमजोर नठान्नुहोस् ।”
पार्टीका संस्थापक अभिजित दिप्केले समेत भाजपाको “विश्वकै सबैभन्दा ठूलो पार्टी” भन्ने नारामाथि कटाक्ष गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “विश्वकै ठूलो पार्टी रे !”
व्यंग्यबाट सुरु भएको अभियान
ककरोच जनता पार्टीको सुरुवात भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवालाई “ककरोच” र “परजीवी” सँग तुलना गरेको भनिएको विवादास्पद अभिव्यक्तिपछि भएको सामाजिक आक्रोशबाट भएको बताइएको छ ।
सुरुमा इन्टरनेटमा व्यंग्यका रूपमा देखिएको अभियान केही दिनमै भाइरल राजनीतिक अभियानमा परिणत भएको हो ।
पार्टीले आफूलाई “अल्छी र बेरोजगारहरूको आवाज” भन्दै चिनाएको छ । व्यंग्यात्मक शैली अपनाए पनि यसको केन्द्रमा बेरोजगारी, राजनीतिक विशेषाधिकार, संस्थागत अहंकार तथा युवाको निराशाजस्ता विषय रहेको विश्लेषण गरिएको छ ।
घोषणापत्रमा के छन् माग ?
सीजेपीले सार्वजनिक गरेको घोषणापत्रमा विभिन्न राजनीतिक तथा प्रशासनिक सुधारका माग समेटिएका छन् । जसमा प्रधानन्यायाधीशलाई अवकाशपछि राज्यसभामा नियुक्ति नगर्ने, वैध मत हटाउनेमाथि कडा कारबाही गर्ने, दल परिवर्तन गर्ने सांसदलाई निर्वाचनमा प्रतिबन्ध लगाउने, सञ्चारमाध्यमबाट फैलाइने गलत सूचनामाथि कारबाही गर्ने तथा शासन व्यवस्थामा महिलाको प्रतिनिधित्व बढाउनेजस्ता माग रहेका छन् ।
किन आकर्षित भइरहेका छन् युवा ?
परम्परागत राजनीतिक दलहरूले जस्तै सभा, जुलुस वा टेलिभिजन प्रचारमा निर्भर नभई ककरोच जनता पार्टीले पूर्ण रूपमा इन्टरनेट संस्कृति र मिममार्फत आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।
यसका सामग्रीहरूमा क्रान्तिकारी शैलीका पोस्टर, अतिरञ्जित राजनीतिक नारा, हास्यव्यंग्य र जेन–जेड पुस्ताको इन्टरनेट भाषा प्रयोग गरिएको छ ।
समर्थकहरूले आफूलाई बेरोजगारी, महँगी, प्रतिस्पर्धात्मक परीक्षा र सामाजिक दबाबका “बाँचेकाहरू” भन्दै मजाकिया शैलीमा परिचित गराउन थालेका छन् ।
विश्लेषकहरूका अनुसार यो अभियानको तीव्र लोकप्रियताले भारतीय युवाहरूको राजनीतिक सहभागिताको शैली परिवर्तन हुँदै गएको संकेत गरेको छ । अहिलेका डिजिटल पुस्ताले औपचारिक राजनीतिक अभियानभन्दा व्यंग्य, मिम र अनलाइन समुदायमार्फत असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
यसैबीच तृणमूल कांग्रेसका सांसद महुआ मोइत्रा र कीर्ति आजादजस्ता नेताहरूले पनि सामाजिक सञ्जालमार्फत उक्त अभियानसँग संवाद गरिसकेका छन् ।
वास्तविक राजनीतिमा भने अझै बलियो भाजपा
सामाजिक सञ्जालमा ककरोच जनता पार्टी चर्चामा आए पनि भारतको वास्तविक राजनीतिक शक्ति भने अझै भारतीय जनता पार्टी नै रहेको विश्लेषण गरिएको छ ।
हालै सम्पन्न पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०७ सिट जित्दै आफ्नो प्रभाव देखाएको थियो भने तृणमूल कांग्रेसले ८० सिटमा सीमित हुनु परेको थियो ।