नेपाल प्रहरीका इन्स्पेक्टरदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मको सरुवा लामो समयदेखि रोकिएको छ । सामान्यतया एक वर्ष कमान्ड पूरा भएपछि सरुवा हुने प्रावधान भए पनि अहिले एक वर्षभन्दा बढी समय बित्दा पनि सरुवा प्रक्रिया अघि बढ्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा प्रभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको सरुवा नहुँदा देशभर प्रशासनिक व्यवस्थापन प्रभावित भएको छ । त्यस्तै, डीएसपीले नेतृत्व गर्ने जिल्ला, वृत्त तथा इलाकाहरूमा पनि सरुवा रोकिएको छ । एसपी तथा एसएसपी तहका सरुवा समेत अड्किएको देखिएको छ ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा अधिकार प्रहरी प्रमुख (आईजीपी) लाई भए पनि गृह मन्त्रालयको नेतृत्वसम्बन्धी अस्थिरताका कारण प्रक्रिया प्रभावित भएको बताइएको छ । गृहमन्त्रीस्तरको निर्णयबाट हुने एसएसपी र डीआईजी सरुवासमेत रोकिएको छ ।
यसअघि गृह मन्त्रालयमा देखिएको राजनीतिक विवादपछि मन्त्रीले राजीनामा दिएको र त्यसपछि प्रधानमन्त्रीले गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका कारण निर्णय प्रक्रिया ढिलाइ भएको स्रोतको भनाइ छ ।
यसैबीच केही एसएसपीहरूको सरुवा हुने चर्चा भने तीव्र बनेको छ । काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जस्ता युनिटहरू आकर्षक पोस्ट मानिन्छन् ।
हाल ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाल पूरा हुन केही दिन मात्र बाँकी छ भने अन्य केही एसएसपीहरूको कार्यकाल अझै पूरा भएको छैन । पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा एसएसपीहरूको छोटो कार्यकाल रहने प्रवृत्ति देखिँदै आएको छ ।
सुरक्षा विश्लेषकहरूका अनुसार सरुवा ढिलाइले प्रहरी संगठनको मनोबल र कार्यक्षमतामा असर पार्न सक्ने भन्दै तत्काल निर्णय आवश्यक रहेको बताएका छन् ।