अब स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन जाँदा भौतिक परिचयपत्र नै बोक्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण स्वास्थ्य बीमामा आबद्ध व्यक्तिलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो ।
नयाँ व्यवस्थाअनुसार बीमितले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति, डिजिटल कार्ड वा कार्डमा उल्लेखित विवरण स्पष्ट देखिने फोटोकपी प्रस्तुत गरेर स्वास्थ्य बीमाको सेवा लिन सक्नेछन् ।
यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी उनी बीमामा आबद्ध भए–नभएको यकिन गर्नुपर्नेछ । बीमामा आबद्ध भएको पुष्टि भएपछि स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध हुने सेवा प्रदान गर्नुपर्ने बोर्डले जनाएको छ ।
यसअघि स्वास्थ्य बीमाको सेवा लिन अस्पताल पुग्दा बीमितले अनिवार्य रूपमा भौतिक परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो । त्यसका कारण परिचयपत्र हराएका, घरमै छुटेका वा साथमा बोक्न बिर्सिएका सेवाग्राहीलाई उपचार लिन समस्या हुने गरेको थियो ।
बोर्डका प्रवक्ता पवनकुमार शाहका अनुसार नयाँ व्यवस्थाले यस्ता समस्यामा परेका सेवाग्राहीलाई सहज हुनेछ । अब भौतिक कार्ड साथमा नभए पनि डिजिटल कार्ड वा त्यसको स्पष्ट फोटोकपीका आधारमा स्वास्थ्य बीमाको सेवा लिन सकिने उनले बताए ।
नयाँ व्यवस्थाले स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अस्पतालमा उपचार सेवा लिन थप सहज बनाउने अपेक्षा गरिएको छ ।