जाडो मौसम सुरु भएसँगै बालबालिकामा रुघाखोकी, ज्वरो, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी विभिन्न संक्रमणको जोखिम बढ्ने गर्छ । विशेषगरी नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिका चिसो मौसममा बढी संवेदनशील हुने भएकाले उनीहरूको स्वास्थ्य र स्याहारमा अभिभावकले विशेष ध्यान दिन आवश्यक हुन्छ । चिसोबाट बचाउने, सन्तुलित पोषण दिने, नियमित खोप लगाउने र रोगका प्रारम्भिक लक्षण पहिचान गर्ने विषयमा अभिभावक सचेत हुनु जरुरी छ । जाडो मौसममा बालबालिकामा देखिने स्वास्थ्य समस्या, त्यसबाट बच्ने उपाय तथा नवजात शिशुको उचित स्याहारबारे नारायणी अस्पतालका बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डा. रुपेश कुमार चौरसियासँग गरिएको कुराकानीको सम्पादित अंश:
जाडो मौसममा बालबालिकाको स्वास्थ्यमा कस्ता समस्याहरू बढी देखिन्छन् ?
जाडो मौसममा तापक्रम घट्ने, हावामा चिसोपन बढ्ने तथा घरभित्र मानिसहरू नजिकै बस्ने भएकाले बालबालिकामा विभिन्न स्वास्थ्य समस्याहरू बढी देखिने गर्छन् । विशेषगरी पाँच वर्षमुनिका बालबालिका, नवजात शिशु, समयभन्दा अगाडि जन्मिएका शिशु तथा कुपोषित बालबालिका बढी जोखिममा हुन्छन् । यस मौसममा बालबालिकामा रुघाखोकी, भाइरल ज्वरो, घाँटी दुख्ने, ब्रोन्किओलाइटिस र निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी संक्रमण बढी देखिन्छन् । त्यसैगरी चिसो हावा, धुलो, धुवाँ र प्रदूषणका कारण दम तथा एलर्जी भएका बालबालिकामा खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या बढ्न सक्छ । रुघाखोकीपछि मध्यकानको संक्रमण, भाइरसका कारण हुने झाडापखाला तथा छालासम्बन्धी समस्या पनि देखिन सक्छन् । छाला सुख्खा हुने, ओठ फुट्ने, चिलाउने र एक्जिमा बढ्ने समस्या सामान्य हुन् । विशेषगरी नवजात शिशु तथा साना बालबालिकामा पर्याप्त न्यानोपन नहुँदा शरीरको तापक्रम खतरनाक रूपमा घट्ने अर्थात् हाइपोथर्मिया हुने जोखिम पनि रहन्छ ।
जाडोमा बालबालिकालाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट कसरी जोगाउन सकिन्छ ?
निमोनिया बालबालिकामा हुने गम्भीर संक्रमणमध्ये एक हो । विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा निमोनिया बिरामी हुने तथा मृत्यु हुने प्रमुख कारणमध्ये पर्छ । त्यसैले उपचारभन्दा रोकथाममा विशेष ध्यान दिनुपर्छ । यसका लागि सबैभन्दा पहिले बालबालिकालाई मौसमअनुसार पर्याप्त न्यानो कपडा लगाइदिनुपर्छ । टाउको, छाती तथा हातखुट्टा न्यानो राख्नुपर्छ र चिसो हावाबाट जोगाउनुपर्छ । जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउनुपर्छ । पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । छ महिनापछि पूरक आहार सुरु गरे पनि दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान जारी राख्नुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप समयमै लगाउनु पनि अत्यन्त आवश्यक छ। विशेषगरी निमोनिया गराउन सक्ने न्युमोकोकल भ्याक्सिन, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी तथा अन्य नियमित खोप छुटाउनु हुँदैन । त्यसैगरी घरभित्र दाउरा, कोइला तथा अन्य इन्धन बाल्दा निस्कने धुवाँबाट बालबालिकालाई टाढा राख्नुपर्छ । चुरोट तथा सुर्तीजन्य पदार्थको धुवाँबाट पनि पूर्ण रूपमा जोगाउनुपर्छ । खाना खानुअघि, शौचालय प्रयोग गरेपछि तथा बच्चालाई खाना खुवाउनुअघि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । अत्यधिक चिसोबाट जोगाउँदै कोठामा स्वच्छ हावाको आवतजावत हुने व्यवस्था मिलाउनुपर्छ । रुघाखोकी लागेको व्यक्तिले बच्चालाई भेट्दा मास्क लगाउने, हात सफा राख्ने र बच्चालाई अनावश्यक भीडभाडमा नलैजाने गर्नुपर्छ ।
निमोनियाका प्रारम्भिक लक्षणहरू के–के हन् ? अभिभावकले कसरी पहिचान गर्न सक्छन् ?
निमोनियाको सुरुवाती अवस्थामा सामान्य रुघाखोकी, ज्वरो तथा खोकी देखिन सक्छ । तर, निमोनिया भएको अवस्थामा श्वासप्रश्वासमा परिवर्तन देखिनु सबैभन्दा महत्त्वपूर्ण संकेत हो । यसका प्रारम्भिक लक्षणमा खोकी लाग्नु, ज्वरो आउनु, उमेरअनुसार सामान्यभन्दा छिटोछिटो सास फेर्नु, दूध वा खाना कम खानु तथा बच्चा सामान्यभन्दा बढी सुस्त वा चिडचिडापन देखिनु पर्दछन् । सास फेर्दा छातीको तल्लो भाग भित्र तानिनु पनि निमोनियाको महत्त्वपूर्ण संकेत हो । केही खतराका संकेतहरू पनि हुन्छन् । बच्चालाई सास फेर्न अत्यधिक गाह्रो हुनु, छातीको तल्लो भाग भित्र तानिनु, ओठ वा जिब्रो नीलो देखिनु, दूध वा पानी पिउन नसक्नु, अत्यधिक सुस्त हुनु, बेहोस हुनु वा प्रतिक्रिया नदिनु गम्भीर अवस्थाका लक्षण हुन्। सास फेर्दा घ्यारघ्यार आवाज आउनु वा आरामको अवस्थामा स्ट्राइडर देखिनु पनि खतराको संकेत हो । बालबालिकाको सास फेर्ने गति उमेरअनुसार मूल्याङ्कन गर्नुपर्छ । दुई महिनाभन्दा कम उमेरमा प्रतिमिनेट ६० वा सोभन्दा बढी, दुईदेखि १२ महिनासम्म ५० वा सोभन्दा बढी र १२ महिनादेखि पाँच वर्षसम्म ४० वा सोभन्दा बढी सास फेर्नुलाई छिटो श्वासप्रश्वास मानिन्छ । यीमध्ये कुनै लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा लैजानुपर्छ । विशेषगरी नवजात शिशुमा ज्वरो आउनु वा शरीरको तापक्रम घट्नु दुवै गम्भीर संक्रमणका संकेत हुन सक्छन् ।
जाडो मौसममा बालबालिकाको खानपान र पोषणमा अभिभावकले कस्तो ध्यान दिनुपर्छ ?
जाडो मौसममा पनि बालबालिकाको शारीरिक वृद्धि, रोग प्रतिरोधात्मक क्षमता र समग्र विकासका लागि सन्तुलित तथा पोषिलो खानपान अत्यन्त आवश्यक हुन्छ । चिसो मौसममा बच्चाले खाना कम खाने वा पानी कम पिउने गर्न सक्छन् । त्यसैले अभिभावकले खानपानमा विशेष ध्यान दिनुपर्छ । छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ। छ महिनापछि उमेरअनुसार नरम, ताजा, सफा र पोषिलो पूरक आहार सुरु गर्नुपर्छ । बालबालिकाको खानामा दाल, भात, गेडागुडी, हरियो सागसब्जी, मौसमी फलफूल, अण्डा, दूध तथा माछामासुजस्ता पौष्टिक खानेकुरा समावेश गर्नुपर्छ । भिटामिन तथा खनिज तत्त्व पाइने सुन्तला, अमला, कागती, अम्बा, गाजर, फर्सी र हरियो सागसब्जी पनि खुवाउनुपर्छ । बच्चालाई उमेरअनुसार पर्याप्त पानी तथा झोलिलो खानेकुरा दिनुपर्छ। खाना ताजा र राम्रोसँग पकाएर खुवाउने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । जंकफुड, प्याकेटका खानेकुरा, अत्यधिक गुलियो पेय पदार्थ तथा चिसो पेय पदार्थको सेवन कम गर्नुपर्छ । विशेषगरी कुपोषित तथा कम तौल भएका बालबालिकालाई पर्याप्त क्यालोरी, प्रोटिन र सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउनु आवश्यक हुन्छ ।
जाडोमा नवजात शिशु तथा साना बालबालिकाको स्याहार कसरी गर्नुपर्छ ?
नवजात शिशुमा शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता पूर्ण विकसित भइसकेको हुँदैन । त्यसैले जाडो मौसममा उनीहरूलाई शरीरको तापक्रम घट्ने अर्थात् हाइपोथर्मिया हुने जोखिम बढी हुन्छ । शिशु जन्मनेबित्तिकै सफा र न्यानो कपडाले पुछेर सुकाउनुपर्छ । त्यसपछि आमाको छातीमा छालासँग छाला जोडिने गरी राख्नुपर्छ । यसलाई स्किन टु स्किन कन्ट्याक्ट भनिन्छ । विशेषगरी कम तौल र समयभन्दा अगाडि जन्मिएका शिशुमा नियमित रूपमा कंगारु मदर केयर गराउनु अत्यन्त लाभदायक हुन्छ । जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउनुपर्छ र बच्चालाई मागअनुसार पटक–पटक आमाको दूध खुवाउनुपर्छ । बच्चालाई मौसमअनुसार टोपी, मोजा र पर्याप्त कपडा लगाइदिनुपर्छ । तर, अत्यधिक कपडा लगाएर पसिना आउने वा शरीर धेरै तात्ने अवस्था हुन दिनु हुँदैन । कोठा न्यानो भएको अवस्थामा मनतातो पानीले छोटो समय नुहाउन सकिन्छ। नुहाएपछि तुरुन्तै शरीर पुछेर न्यानो कपडा लगाइदिनुपर्छ । जन्मेको तुरुन्तै नुहाउनु हुँदैन। कम्तीमा २४ घण्टा ढिलाइ गर्नु राम्रो हुन्छ । नवजात शिशुलाई अनावश्यक भीडभाडमा लैजानु हुँदैन । बच्चा समाउनुअघि हात सफा गर्नुपर्छ। बच्चाले दूध नखाने, शरीर असामान्य चिसो हुने, ज्वरो आउने, छिटो सास फेर्ने वा अत्यधिक सुस्त हुने अवस्था देखिएमा तुरुन्त अस्पताल लैजानुपर्छ । त्यसैगरी बच्चालाई न्यानो राख्न आगो, कोइला वा ग्यास हिटर अत्यधिक नजिक राख्नु हुँदैन । बन्द कोठामा कोइला वा अङ्गार बाल्नु विशेष खतरनाक हुन्छ, किनकि यसबाट निस्कने कार्बन मोनोअक्साइडले ज्यानसमेत लिन सक्छ ।
जाडो मौसममा बालबालिकालाई स्वस्थ राख्न अभिभावकले दैनिक जीवनमा कस्ता सावधानी तथा स्वास्थ्यसम्बन्धी उपायहरू अपनाउनुपर्छ ?
बालबालिकालाई जाडो मौसममा स्वस्थ राख्न औषधिभन्दा पनि दैनिक जीवनमा अपनाइने स्वस्थ बानी, पोषण, सरसफाइ र उचित स्याहार बढी महत्त्वपूर्ण हुन्छन् । बिहान तथा बेलुका चिसो बढी हुने समयमा बालबालिकालाई आवश्यकताअनुसार न्यानो कपडा लगाइदिनुपर्छ। घर तथा बच्चा सुत्ने कोठा सफा, न्यानो र हावाको उचित आवतजावत हुने बनाउनुपर्छ । नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ । बालबालिकालाई पर्याप्त निद्रा तथा आरामको व्यवस्था गर्ने र उमेरअनुसार नियमित खेलकुद तथा शारीरिक गतिविधिमा प्रोत्साहन गर्नुपर्छ । सन्तुलित खाना तथा पर्याप्त पानी खुवाउनुपर्छ । नियमित खोप तथा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बच्चा बिरामी भएको अवस्थामा आफैँले जथाभावी एन्टिबायोटिक वा खोकीको औषधि प्रयोग गर्नु हुँदैन । रुघाखोकी वा ज्वरो आएका बालबालिकालाई आवश्यक आराम दिनुपर्छ र अवस्था बिग्रिएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । त्यसैगरी बच्चालाई तातो पानीको बाफ प्रत्यक्ष रूपमा सुँघाउने काम गर्नु हुँदैन, किनकि यसले पोल्ने जोखिम हुन्छ । विशेषगरी बालबालिकामा सास फेर्न गाह्रो हुने, छाती भित्र तानिने, दूध खान नसक्ने वा अत्यधिक सुस्त हुने लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तुरुन्त अस्पताल पु¥याउनुपर्छ ।
जाडो मौसममा आफ्ना बालबालिकालाई स्वस्थ, सुरक्षित र रोगमुक्त राख्न चाहने सम्पूर्ण अभिभावकलाई तपाइँ के सन्देश दिन चाहनुहुन्छ ?
जाडो मौसम बालबालिकाका लागि चुनौतीपूर्ण हुन सक्छ, तर उचित हेरचाह, पोषण, सरसफाइ र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सके धेरैजसो रोगबाट बचाउन सकिन्छ । विशेषगरी नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा बढी ध्यान दिनुहोस्। बच्चालाई न्यानो राख्नुहोस्, पर्याप्त स्तनपान गराउनुहोस्, पौष्टिक खाना खुवाउनुहोस्, सबै नियमित खोप पूरा गराउनुहोस् र घरलाई धुवाँ तथा प्रदूषणमुक्त राख्ने प्रयास गर्नुहोस् । निमोनिया सामान्य रुघाखोकीजस्तो देखिएर सुरु हुन सक्छ, तर समयमै पहिचान र उपचार नभएमा ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले बच्चाले छिटो सास फेर्न थालेमा, छाती भित्र तानिएमा वा दूध खान छोडेमा ढिला नगरी स्वास्थ्य संस्थामा जानुहोस् । ज्वरो वा खोकीलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस् र चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्नुहोस् । बालबालिकाको स्वास्थ्यमा गरिएको सानो सावधानीले ठूलो दुर्घटना रोक्न सक्छ । स्वस्थ बालबालिका नै स्वस्थ परिवार र समृद्ध राष्ट्रको आधार हुन् ।