साताको कारोबारको चौथो दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से बढेको छ। यसदिन नेप्से परिसूचक ८.६६ अंकले बढेर २ हजार ६४७.४१ विन्दुमा पुगेर बन्द भएको हो।
मंगलबारको तुलनामा बुधबार कारोबार रकममा समेत वृद्धि भएको छ। मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
यसदिन ३५६ वटा धितोपत्रको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १७० वटाको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६७७ रुपैयाँ पुगेको छ। त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ८.६२ प्रतिशतले बढेर प्रतिकित्ता २९१ रुपैयाँ १० पैसा कायम भएको छ।
यसदिन उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.३० प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८८० रुपैयाँ कायम भएको छ। त्यसैगरी, लक्ष्मी भ्यालु फण्ड–२ को इकाइ मूल्य २.९८ प्रतिशतले घटेर ९ रुपैयाँ ११ पैसामा झरेको छ।
कारोबार रकमका आधारमा बुधबार हिमालयन ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता २९१ रुपैयाँ १० पैसाका दरले कुल ३४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। बैंकको प्रतिकित्ता २३८ रुपैयाँका दरले २२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १० समूहको परिसूचक बढेको छ भने बाँकी ३ समूहको घटेको छ। यसले समग्र बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ।