नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न भइसकेकाले अब कांग्रेसकै नाममा अर्को महाधिवेशन गर्न नमिल्ने बताएका छन्।
मंगलबार केन्द्रीय समिति बैठक सुरु गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेकोप्रति असन्तुष्टि जनाएका हुन्।
उनले उक्त महाधिवेशनमा सहभागी भएर अर्को पार्टीमा आबद्ध हुने नेता तथा कार्यकर्तालाई पार्टीबाट राजीनामा दिन आग्रह गरेका छन्। विशेषगरी राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिले कांग्रेस छाडेर नयाँ पार्टीमा जाने निर्णय गरे सम्बन्धित पदबाट समेत राजीनामा दिनुपर्ने उनको भनाइ छ।
थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने व्यक्तिको सदस्यता पार्टी विधानअनुसार कायम नरहने स्पष्ट पारे। राजीनामा नदिए विधानअनुसार कारबाही हुने चेतावनीसमेत उनले दिएका छन्।
‘म सभापति भएकोले सबैलाई मिलाएर लैजानुपर्ने दायित्व छ। साथै विधान पनि पालना गर्नुपर्छ,’ उनले भने।
उनले आफू कसैलाई पनि पार्टीबाट निकाल्ने पक्षमा नरहेको स्पष्ट पार्दै एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने बताए।
‘एक व्यक्ति राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, कांग्रेसको पनि सदस्य र अर्को कुनै पार्टीको पनि सदस्य हुन पाउनुहुन्न। अब हुने नेपाली कांग्रेसको अधिवेशन होइन, एकै पार्टीको दुई अधिवेशन हुन सक्दैन,’ थापाले भने।
कृष्णप्रसाद सिटौलालगायत केही नेताहरू राष्ट्रिय सभा सदस्य रहेकाले उनीहरू पनि छुट्टै महाधिवेशनको तयारीमा रहेको बताइएको छ।