चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको लसुन आयात गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा ७ हजार ४३८ टन लसुन भित्रिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त परिमाणको लसुन आयात गर्दा १ अर्ब १६ करोड ९२ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ । लसुन आयातबाट सरकारले २८ करोड २७ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा नेपालले ५ हजार ४०७ टन लसुन आयात गरेको थियो । त्यसबेला ७४ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको लसुन आयात हुँदा सरकारले १८ करोड ४ लाख ५१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा लसुन आयात परिमाण ३७.५७ प्रतिशतले बढेको छ । त्यस्तै, आयात मूल्य ५७.६५ प्रतिशत र भन्सार राजस्व ५६.६९ प्रतिशतले वृद्धि भएको छ ।
ताजा लसुन आयातमा ठूलो वृद्धि
नेपालमा आयात हुने लसुनमध्ये ताजा तथा चिस्याइएको लसुनको हिस्सा सबैभन्दा ठूलो छ । चालु आर्थिक वर्षको चार महिनामा ६ हजार ९०० टन ताजा लसुन आयात भएको छ । यसको मूल्य ९९ करोड ७८ लाख ५३ हजार रुपैयाँ रहेको छ । उक्त आयातबाट २४ करोड २७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४ हजार ८७० टन ताजा लसुन ६४ करोड ७१ लाख ४ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष ताजा लसुन आयात परिमाण ४१.६९ प्रतिशत र मूल्य ५४.२० प्रतिशतले बढेको छ ।
त्यस्तै, सुकेको लसुन आयात परिमाण भने सामान्य रहे पनि मूल्य उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नकुटिएको तथा नपिँधिएको ४०७ टन र कुटिएको वा पिँधिएको १३० टन गरी कुल ५३७ टन सुकेको लसुन आयात भएको छ ।
यसका लागि कुल १७ करोड १४ लाख २८ हजार रुपैयाँ खर्च भएको छ । सुकेको लसुन आयातबाट सरकारले ३ करोड ९९ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ५३६ टन सुकेको लसुन ९ करोड ४६ लाख ३ हजार रुपैयाँमा आयात भएको थियो ।
लसुन आयातमा चीनको वर्चस्व
देशगत रूपमा हेर्दा नेपाली बजारमा आयात हुने लसुनमा चीनको हिस्सा सबैभन्दा बढी देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले चीन र भारतबाट मात्रै लसुन आयात गरेको छ ।
कुल आयातित लसुनमध्ये ९२.७५ प्रतिशत चीनबाट आएको छ । चीनबाट ६ हजार ८९८ टन ताजा लसुन ९९ करोड ७७ लाख २२ हजार रुपैयाँमा आयात भएको छ । यसबाट सरकारले २४ करोड २७ लाख ४९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा चीनबाट ४ हजार ८५२ टन लसुन ६४ करोड ५७ लाख ५७ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष चीनबाट हुने लसुन आयात परिमाण ४२.१७ प्रतिशत र मूल्य ५४.५० प्रतिशतले बढेको छ ।
अर्कोतर्फ, भारतबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा ताजा र सुकेको गरी ५३९ टन लसुन आयात भएको छ । यसको मूल्य १७ करोड १५ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
भारतबाट केवल १.५ टन ताजा लसुन आयात भएको छ भने सुकेको लसुनको सम्पूर्ण आयात भारतबाट भएको तथ्यांकमा उल्लेख छ । भारतबाट भएको लसुन आयातबाट ३ करोड ९९ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट ५५४ टन लसुन ९ करोड ५९ लाख ४८ हजार रुपैयाँमा आयात भएको थियो । यस वर्ष भारतबाट हुने लसुन आयात परिमाण २.७ प्रतिशतले घटे पनि मूल्य भने ७८.८० प्रतिशतले बढेको छ ।