चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालले ५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म ६८ हजार २२७ टन धानचामल आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त परिमाणको धानचामल आयात गर्दा ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ विदेशिएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा यस वर्ष धानचामल आयात परिमाणमा ६३.१६ प्रतिशत र मूल्यमा ४६.८३ प्रतिशतले घटेको छ ।
गत वर्षको पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार १९८ टन धानचामल आयात भएको थियो । यस वर्ष आयात परिमाण १ लाख १६ हजार ९७० टन र मूल्य ४ अर्ब ७७ करोड ८८ लाख ८ हजार रुपैयाँले घटेको हो ।
धान आयात ७४ हजार टनले घट्यो
चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९०२ टन धान आयात भएको छ । यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजार रुपैयाँको २२ हजार ९०२ टन धान र ५ लाख १ हजार रुपैयाँको ६७ किलो धानको बीउ समावेश छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५९ करोड ९० लाख १६ हजार रुपैयाँ बराबरको धान तथा बीउ आयात भएको थियो । त्यसबेला ३ अर्ब ५९ करोड ६७ लाख ५९ हजार रुपैयाँको ९६ हजार ९१३ टन धान र २२ लाख ५७ हजार रुपैयाँको ५६.५ टन धानको बीउ आयात भएको थियो ।
तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष धान आयात परिमाण ७४ हजार ६७ टन र मूल्य २ अर्ब ५६ करोड २० लाख २० हजार रुपैयाँले घटेको छ ।
चामल आयात पनि ४२ हजार टनले घट्यो
चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ अर्ब ३७ करोड ७८ लाख २५ हजार रुपैयाँ बराबरको ४५ हजार ३२४ टन चामल आयात भएको छ । यसमा खैरो चामल, बासमती, अन्य चामल र कनिका समावेश छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख ९३ हजार रुपैयाँ बराबरको ८८ हजार २२७ टन चामल आयात भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष चामल आयात परिमाण ४२ हजार ९०३ टन र मूल्य २ अर्ब २० करोड ८० लाख ६८ हजार रुपैयाँले घटेको छ ।
चामलका विभिन्न प्रकारमध्ये बासमती चामलको आयात भने मूल्यका आधारमा लगभग स्थिर देखिएको छ । चालु आर्थिक वर्षको चार महिनामा २ अर्ब ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको १८ हजार ९८ टन बासमती चामल आयात भएको छ ।
गत वर्ष सोही अवधिमा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार रुपैयाँ बराबरको २२ हजार ८८ टन बासमती चामल आयात भएको थियो । यस वर्ष बासमतीको आयात परिमाण घटे पनि आयात मूल्य भने सामान्य बढेको छ ।
बासमतीबाहेक अन्य सेमिमिल्ड वा होलिमिल्ड चामलको आयात उल्लेख्य घटेको छ । गत वर्ष ४ अर्ब ४ करोड ७९ हजार रुपैयाँ बराबरको ६२ हजार ८८३ टन आयात भएको यस्तो चामल यस वर्ष १ अर्ब ८९ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको २६ हजार ५७५ टनमा सीमित भएको छ ।
त्यस्तै, कनिका आयात पनि गत वर्षको १३ करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको ३ हजार २५२ टनबाट घटेर यस वर्ष २ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको ६४९ टनमा झरेको छ ।
खैरो चामलको आयातसमेत घटेको छ । गत वर्ष ४ लाख २० हजार रुपैयाँ बराबरको ३.४ टन आयात भएकोमा यस वर्ष १ लाख १८ हजार रुपैयाँ बराबरको ०.८ टन मात्रै आयात भएको छ ।
धानचामल आयातबाट राजस्व पनि घट्यो
धानचामल आयात घटेसँगै सरकारले प्राप्त गर्ने राजस्वसमेत कम भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा धानचामल आयातबाट ४४ करोड ६२ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ७७ करोड ४१ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
नेपालको धानचामल आयातमा भने यस अवधिमा पनि भारतकै वर्चस्व कायम रहेको तथ्यांकले देखाएको छ ।