सरकारले १३ वर्ष उमेर पुगेका बालबालिकालाई निश्चित सर्त र मापदण्डका आधारमा हल्का काम गर्न दिने प्रस्तावको बचाउ गरेको छ ।
बालश्रम पूर्णरूपमा निषेध गर्ने कि उमेर र कामको प्रकृतिका आधारमा नियमन गर्ने भन्ने बहस भइरहेका बेला सरकारले नेपालको आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालाई ध्यानमा राखेर यस्तो व्यवस्था प्रस्ताव गरिएको स्पष्ट पारेको हो ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम निषेध तथा नियमन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपालमा अझै पनि ११ लाख बालबालिका बालश्रममा संलग्न रहेको तथ्यांक रहेको बताए । उनीहरूलाई श्रमबाट बाहिर निकाल्दै बालश्रमको संख्या घटाउने उद्देश्यले विधेयक ल्याइएको उनको भनाइ छ ।
‘अहिले पनि नेपालमा ११ लाख बच्चा बालश्रममा आबद्ध छन् भनेर तथ्यांकले देखाइरहेको छ । त्यो संख्या कसरी घटाउने भन्ने उद्देश्यले विधेयक ल्याइएको हो,’ मन्त्री यादवले भने ।
बालश्रम पूर्णरूपमा निषेध गर्ने कानुन बनाउँदैमा समस्या समाधान नहुने उनको तर्क छ । गरिबी, पारिवारिक अवस्था, अभिभावकविहीनता र बालबालिकाको संरक्षण गर्ने राज्यको क्षमतालाई समेत विचार गरेर कानुन बनाउनुपर्ने उनले बताए ।
‘कार्यान्वयन नै गर्न नसकिने कानुन बनाइयो भने त्यो असफल हुन्छ । त्यसैले व्यावहारिक र कार्यान्वयन गर्न सकिने अवस्थालाई हेरेर कानुन बनाउनुपर्छ,’ उनले भने ।
सरकारले प्रस्ताव गरेको १३ वर्षको उमेर नेपालको आर्थिक तथा सामाजिक परिस्थितिअनुसार निर्धारण गरिएको मन्त्री यादवले बताए । उनका अनुसार १३ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई घरमा अभिभावकलाई सामान्य सहयोग गर्ने प्रकृतिका हल्का काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको छ ।
त्यसमा पनि बालबालिकाको शिक्षा, स्वास्थ्य, शारीरिक तथा मानसिक विकास र शोषणको जोखिमलाई ध्यानमा राखिने उनको दाबी छ । बालबालिकालाई विद्यालयबाट निकालेर काममा लगाउने सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै उनले उनीहरूलाई विद्यालयमै टिकाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कामको प्रकृति र सीमा निर्धारण गरिएको उनले बताए । कुन उमेरका बालबालिकाले कस्तो काम गर्न पाउने भन्ने विषय विधेयकको अनुसूचीमा समेटिएको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार बालश्रम र सामान्य कामलाई एउटै रूपमा हेर्न मिल्दैन । लामो समय काममा लगाउने, स्वास्थ्यमा असर पर्ने, मानसिक दबाब सिर्जना गर्ने र उमेरअनुसार तोकिएको सीमाभन्दा बढी काम गराउने अवस्थालाई शोषणकारी श्रमका रूपमा लिनुपर्ने सरकारको प्रस्ताव छ ।
उद्धारसँगै पुनर्स्थापना र आर्थिक सुरक्षामा सांसदहरूको जोड
विधेयकमाथिको छलफलमा सांसदहरूले बालश्रम नियन्त्रणका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नहुने भन्दै उद्धार, पुनर्स्थापना, परिवारको आर्थिक सुरक्षा, विद्यालयमा पुनःएकीकरण र प्रभावकारी अनुगमनमा जोड दिएका छन् ।
सांसद प्रभा कार्कीले बालबालिकालाई श्रमबाट उद्धार गरेपछि राज्यले तत्काल संरक्षण र सुरक्षित आवासको जिम्मेवारी लिनुपर्ने बताइन् । उजुरी गरेकै कारण रोजगारदाताबाट प्रतिशोध, हिंसा वा थप जोखिम हुन सक्ने भएकाले उद्धार गरिएका बालबालिकालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था स्पष्ट हुनुपर्ने उनको सुझाव छ ।
बालश्रमको प्रमुख कारण गरिबी भएकाले रोजगारदातालाई कारबाही गर्ने व्यवस्थासँगै प्रभावित परिवारको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम पनि कानुनमा समेट्नुपर्ने उनले बताइन् । विपन्न परिवारलाई सामाजिक सुरक्षा, अभिभावकलाई सीप तथा रोजगारी र लक्षित आर्थिक सहायता उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, जन्मदर्ता वा उमेर प्रमाणित गर्ने कागजात नभएका बालबालिकालाई वयस्क ठहर गरेर कानुनी संरक्षणबाट वञ्चित गर्न नहुने विषय पनि उनले उठाइन् ।
सांसद कालिबहादुर सहकारीले विद्यालय, स्वास्थ्य संस्था र होटललगायत क्षेत्रमा ११–१२ वर्षका बालबालिकासमेत काम गरिरहेको वास्तविकता औँल्याउँदै उमेरअनुसार कामको स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । कामको समय, आराम, स्वास्थ्य, पोषण र शिक्षामा असर नपर्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ ।
सांसद प्रकाश पाठकले शरणार्थी तथा सीमापारबाट आएका बालबालिकाको श्रमसम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताए । खुला सीमा र शरणार्थी बालबालिकाको अवस्थालाई ध्यानमा राखेर विशेष संरक्षणको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
विधेयकमा मुद्दा दायर गर्ने समयसीमा ६ महिना प्रस्ताव गरिएको भए त्यसलाई बालबालिकासम्बन्धी ऐनअनुसार एक वर्ष बनाउनुपर्ने सुझाव पनि उनले दिए ।
सांसद गङ्गादेवी श्रेष्ठले बालश्रम सडक तथा सार्वजनिक क्षेत्रमा मात्रै नभई अहिले लुकेर हुने श्रमका रूपमा पनि बढिरहेको बताइन् । गरिबी, बेरोजगारी, विपद्, अभिभावक विदेश जाने अवस्था र असमान शिक्षा प्रणालीले बालश्रमको जोखिम बढाउने उनको भनाइ छ ।
मनोरञ्जन क्षेत्रमा बालबालिकाको श्रमलाई पनि स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन् । दोहोरी, मेला, महोत्सव तथा अन्य मनोरञ्जनात्मक गतिविधिमा कम उमेरका बालबालिका संलग्न हुने अवस्थालाई नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ ।
सांसद कृपाराम रानाले विधेयक संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग मेल खाने गरी बनाउनुपर्ने बताए । संविधानको धारा ३९ ले सुनिश्चित गरेका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, हेरचाह, खेलकुद, मनोरञ्जन र व्यक्तित्व विकाससम्बन्धी अधिकारसँग विधेयकका प्रावधान बाझिन नहुने उनको भनाइ थियो ।
बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महासन्धि १३८ र १८२ को मर्मलाई समेत ध्यानमा राखेर विधेयकका प्रावधान र अनुसूची समीक्षा गर्नुपर्ने उनले बताए ।
सांसद सोम शर्माले बालश्रमको समस्या गरिबी, अभिभावकको संरक्षण अभाव र परिवारको कमजोर आर्थिक अवस्थासँग जोडिएको भन्दै कानुनसँगै परिवारलाई आर्थिक सुरक्षा र रोजगारीको अवसर दिनुपर्ने बताए ।
समिति सभापति रहबर अन्सारीले विधेयकलाई प्रगतिशील प्रस्तावको संज्ञा दिँदै बालबालिकालाई काममा लगाउँदा रोजगारदाताका लागि आर्थिक रूपमा महँगो बनाउने उद्देश्य रहेको बताए । जरिवाना, कानुनी जिम्मेवारी र पुनर्स्थापनाका प्रावधानमार्फत रोजगारदातालाई जिम्मेवार बनाउन खोजिएको उनको भनाइ छ ।
बालबालिकाको उमेर, कामको प्रकृति, काम गर्ने समय र श्रमको भारसमेत स्पष्ट निर्धारण गर्ने प्रस्ताव रहेको भन्दै उनले दफावार छलफलका क्रममा सांसदहरूका संशोधनलाई समेटेर विधेयक अघि बढाइने बताए ।