मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव नेतृत्वको सरकार गठन भएको सुरुवातमै राजनीतिक संकटमा परेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन भए पनि हालसम्म कुनै पनि दलले समर्थन जनाएका छैनन् । दलहरूबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारसमेत अन्योलमा परेको छ ।
मंसिर ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शपथ लिए पनि सरकारलाई समर्थन जुटाउने विषयमा अन्योल कायमै छ । मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाए पनि अन्य दलको समर्थन प्राप्त गर्न सकेको छैन ।
सरकार गठनको विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक ठाउँमा उभिएका छन् । मुख्यमन्त्री यादवले शपथ लिँदा तीनवटै दलका नेताहरूले समारोह बहिष्कार गरेका थिए । यता, जनमत पार्टीले पनि सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
यद्यपि, जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले सरकार कुनै संकटमा नरहेको दाबी गरेका छन् । विभिन्न दलसँग छलफल भइरहेको र एक–दुई दिनभित्र सरकारबारे टुंगो लाग्ने उनको भनाइ छ ।
उनका अनुसार जसपा नेपालसहितको अग्रगामी मोर्चाले यसअघि सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । तर, राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै सबैभन्दा ठूलो दलको हैसियतमा जसपा नेपालले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएको उल्लेख गर्दै झाले सरकार सञ्चालन गर्नु पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे । ‘संवैधानिक संकट नआओस् भनेर नै सरकारको नेतृत्व गरेका हौँ । यसमा सबै दलले सहयोग गर्नेछन्,’ उनले दाबी गरे ।
अग्रगामी मोर्चाको कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव व्यस्त रहेकाले कांग्रेसलगायत दलसँग औपचारिक छलफल हुन नसकेको उनको भनाइ छ । अध्यक्ष यादव काठमाडौं फर्किएपछि एक–दुई दिनभित्रै दलहरूबीच छलफल गरेर सरकारबारे निष्कर्षमा पुगिने झाले बताए ।
सरकार गठन प्रक्रियाविरुद्ध कानुनी परामर्शमा तीन दल
यसअघि कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि संविधानको व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
तर, जसपा नेपालले सरकारको नेतृत्व पाउनुअघि कांग्रेस, एमाले र नेकपाले छलफलका लागि प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसँग लिखित रूपमा समय मागेका थिए । प्रदेश प्रमुखले छलफलका लागि समय नदिएको तीन दलको गुनासो छ ।
त्यसपछि सरकार गठन प्रक्रिया असंवैधानिक रहेको दाबीसहित मुद्दा दायर गर्ने विषयमा तीन दलले कानुनी परामर्श थालेको कांग्रेसका एक नेताले बताएका छन् ।
मधेस प्रदेशका कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरू यतिबेला काठमाडौंमा छन् । उनीहरूले सरकार गठन प्रक्रियाबारे कानुनी तथा राजनीतिक परामर्श गरिरहेको बताइएको छ ।
यद्यपि, जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा दलहरूले औपचारिक निर्णय गरिसकेका छैनन् । मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र सिंहले पनि यसबारे पार्टीले कुनै निर्णय नगरेको बताए । उनका अनुसार सरकारलाई समर्थन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको छ र एक–दुई दिनभित्र निष्कर्षमा पुगिनेछ ।
सरकार गठनविरुद्ध मुद्दा दायर गर्ने तयारीबारे भने आफूलाई जानकारी नभएको सिंहले स्पष्ट पारे ।
जसपा नेपालका नेता शैलेन्द्र साहले पनि पार्टी आवश्यकताका आधारमा सरकारको नेतृत्व गर्न बाध्य भएको बताए । अन्य दलले पनि सोहीअनुसार सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श भइरहेको र चाँडै निष्कर्षमा पुगिने उनले बताए ।
बहुमतका लागि जसपा नेपाललाई थप २५ सांसदको समर्थन आवश्यक
मधेस प्रदेशका मुख्यमन्त्री यादवले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । हाल १०३ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५२ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशसभामा दलहरूको सांसद संख्या यस्तो छ :
|
राजनीतिक दल
|
सांसद संख्या
|
|
जसपा नेपाल
|
२८
|
|
नेकपा एमाले
|
२४
|
|
नेपाली कांग्रेस
|
२२
|
|
नेपाली कम्युनिस्ट पार्टी
|
१५
|
|
जनमत पार्टी
|
१२
|
|
नेपाल संघीय समाजवादी पार्टी
|
१
|
|
राष्ट्रिय प्रजातन्त्र पार्टी
|
१
|
|
जम्मा
|
१०३
|
हाल जसपा नेपालसँग २८ सांसद मात्रै रहेकाले बहुमत पुर्याउन थप २५ सांसदको समर्थन आवश्यक छ ।
एमालेको समर्थन प्राप्त भए जसपा नेपाल नेतृत्वको सरकारले सहजै बहुमत जुटाउन सक्छ । तर, एमालेसँग सहकार्य गरेर सरकार सञ्चालन गर्ने विषयमा जसपा नेपालले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।
कांग्रेसको मात्रै समर्थनले जसपा नेपाललाई बहुमत पुग्दैन । तर, कांग्रेस र जनमत पार्टी दुवैको समर्थन प्राप्त भए सरकारका लागि आवश्यक बहुमत पुग्नेछ । यद्यपि, यी दुवै दलले अहिलेसम्म समर्थन गर्ने निर्णय गरेका छैनन् ।
नेकपा भने एमालेको साथ छाड्ने पक्षमा नरहेको बताइएको छ । अन्य प्रदेशमा एमाले र नेकपा नेतृत्वको गठबन्धन सरकार रहेकाले मधेसमा पनि यी दुई दलबीचको सहकार्य कायम रहने नेताहरूको बुझाइ छ ।
जनमत पार्टीका नेता एवं मधेस प्रदेशसभा सदस्य महेश यादवले जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताए । अग्रगामी मोर्चाको निर्णय आउन बाँकी रहेकाले सोहीअनुसार पार्टी अघि बढ्ने उनले स्पष्ट पारे ।
यता, जसपा नेपालका प्रदेशसभा सदस्य राजु गुप्ताले पनि दलहरूबीच सरकार गठनबारे परामर्श भइरहेको बताए । कांग्रेससँग औपचारिक छलफल हुन बाँकी रहेको उल्लेख गर्दै उनले अध्यक्ष उपेन्द्र यादव काठमाडौं फर्किएपछि छलफल गरेर निष्कर्षमा पुगिने बताए ।
कांग्रेस र जनमत पार्टीले जसपा नेपाल नेतृत्वको सरकारलाई समर्थन गर्नेमा आफू विश्वस्त रहेको गुप्ताको भनाइ छ । तर, दलहरूबीच सहमति नजुटेसम्म मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक भविष्य अनिश्चित देखिएको छ ।