एकैछिनमा आगो, धुवाँ र धमाकाले आकाश ढाकियो—चीनको दक्षिणी भागमा रहेको हुनान प्रान्त अन्तर्गत पर्ने लिउयाङ शहरस्थित एक पटाका कारखानामा भएको शक्तिशाली विस्फोटले २६ जनाको ज्यान लिएको छ भने ६१ जना घाइते भएका छन्।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार सोमबार दिउँसो भएको उक्त विस्फोटपछि उद्धार तथा खोज कार्य सम्पन्न भइसकेको छ। घटनापछि कारखाना वरपर ३ किलोमिटर क्षेत्र खाली गराइएको थियो।
ठूलो स्तरको उद्धार अभियान
विस्फोटपछि चीनले व्यापक उद्धार अभियान सञ्चालन गरेको थियो। १,५०० भन्दा बढी उद्धारकर्मी, कुकुर, ड्रोन र रोबोट परिचालन गरी भग्नावशेषमा खोजी गरिएको थियो। त्यहाँबाट फसेका ७ जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ।
अनुसन्धान र नियन्त्रण कारबाही
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। राज्य मिडियाका अनुसार कारखाना सञ्चालनमा संलग्न जिम्मेवार व्यक्तिहरूमाथि नियन्त्रणात्मक कारबाही गरिएको छ।
उद्धार कार्यका क्रममा कारखाना क्षेत्रभित्र रहेका दुई वटा बारुद भण्डारलाई उच्च जोखिमयुक्त मानिएको थियो। सम्भावित थप विस्फोट रोक्न क्षेत्रलाई आर्द्र बनाउने (humidify) जस्ता सुरक्षा उपाय पनि अपनाइएको थियो।
व्यापक क्षति र स्थानीय त्रास
विस्फोट यति शक्तिशाली थियो कि वरपरका घरका झ्यालका सिसा फुटेका, ढोकाहरू बांगिएका र संरचनाहरूमा क्षति पुगेको स्थानीयहरूले बताएका छन्। घाइतेमध्ये धेरैजना २० देखि ६० वर्ष उमेर समूहका छन्, केहीलाई गम्भीर हड्डी चोट लागेको छ।
एक स्थानीय बासिन्दाले करिब १ किलोमिटर टाढासम्म विस्फोटको असर पुगेको बताउँदै गाउँमा त्रास फैलिएको उल्लेख गरिन्। उनका अनुसार घरका झ्यालहरू फुटेका र सडकमा ढुंगा छरिएका छन्।
राष्ट्रपति शी जिनपिङको निर्देशन
चीनका राष्ट्रपति शी जिनपिङ ले हराएका व्यक्तिको खोजी र घाइतेको उपचारमा पूर्ण प्रयास गर्न निर्देशन दिएका छन्। साथै घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न पनि आदेश दिएका छन्।
वातावरणीय अवस्था सामान्य
स्थानीय अधिकारीहरूले पानी र हावाको गुणस्तर निरन्तर अनुगमन भइरहेको र हाल वातावरणीय सूचकहरू सामान्य अवस्थामा रहेको जनाएका छन्।
पटाका उत्पादनका लागि प्रसिद्ध लिउयाङ शहर विश्वकै प्रमुख फायरवर्क्स उत्पादन केन्द्रमध्ये एक मानिन्छ। तर यस्ता औद्योगिक विस्फोटहरू चीनमा समय–समयमा दोहोरिँदै आएका छन्, जसले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाइरहेको छ।