इरान र संयुक्त राज्य अमेरिका बीच यस साता सम्पन्न युद्धविराम सम्झौतामा चीनले आफ्नो भूमिकाबारे खुलस्त नबोले पनि उच्चस्तरीय वार्तामा संलग्नता पुष्टि भएपछि बेइजिङको ‘मौन कूटनीति’ चर्चामा आएको छ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले द्वन्द्व सुरु भएयता “सक्रिय रूपमा अन्त्यका लागि पहल गरेको” बताउँदै खाडी र मध्यपूर्वमा शान्ति स्थापनामा सकारात्मक भूमिका जारी राख्ने उल्लेख गरिन्।
उता, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि हालैका दिनहरूमा अमेरिका–चीनबीच उच्च तहको वार्ता भएको पुष्टि गरेकी छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई युद्धविराम वार्तामा ल्याउन भूमिका खेलेको विश्वास व्यक्त गरेका थिए।
संवेदनशील अवस्थाको युद्धविरामलाई ध्यानमा राख्दै बेइजिङले आफ्नो कूटनीतिक सन्देशलाई सन्तुलित र संयमित राखेको देखिन्छ। तर, चिनियाँ नेता सी जिनपिङको नेतृत्वमा चीनले आफूलाई ‘शान्तिको पक्षधर’ का रूपमा प्रस्तुत गर्दै विश्व सुरक्षा मामिलामा प्रभाव विस्तार गर्ने रणनीति अघि बढाएको संकेत पनि देखिएको छ।
यसैबीच, चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यीले द्वन्द्व सुरु भएयता विश्वका विभिन्न मुलुकहरूसँग गरेका २६ वटा ‘शान्तिका लागि फोन संवाद’ सार्वजनिक गरिएको छ।
चीनको इरानसँगको आर्थिक–कूटनीतिक सम्बन्ध र पाकिस्तानसँगको निकटता कारण पनि शान्ति प्रक्रियामा बेइजिङलाई महत्वपूर्ण खेलाडीका रूपमा हेरिएको छ। पछिल्लो साता बेइजिङमै वाङ यी र पाकिस्तानी समकक्ष इसहाक डारबीच भएको भेटमा दुवै पक्षले शान्ति पुनःस्थापनाका लागि संयुक्त पाँच बुँदे पहलसमेत सार्वजनिक गरेका थिए।