प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेकपा (एमाले) ले हालसम्म १० वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ। तर धेरै स्थानमा एमाले उम्मेदवार र प्रतिस्पर्धीबीचको मतान्तर भने निकै झिनो देखिएको छ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत देशभर मतगणना जारी छ। अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका भए पनि केही स्थानमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पनि अघि रहेका छन्।
हालसम्म नेकपा (एमाले) ले १० वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। यद्यपि धेरै स्थानमा एमाले उम्मेदवार र प्रतिस्पर्धीबीचको मतान्तर ठूलो छैन।
तेह्रथुममा एमालेका भानुभक्त ढकालले ६ हजार ८९७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ६ हजार ५०६ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३९१ मतको अन्तर रहेको छ।
ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापाले २ हजार २१८ मत प्राप्त गर्दै ८३५ मतको अन्तरसहित अग्रता लिएकी छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले १ हजार ३८३ मत प्राप्त गरेका छन्।
सिन्धुली–१ मा एमालेका प्रदीपकुमार कटुवालले ४ हजार ६६९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उज्ज्वल बरालले ३ हजार १५४ मत प्राप्त गरेका छन्। यहाँ दुई उम्मेदवारबीच १ हजार ५१५ मतको अन्तर रहेको छ।
स्याङ्जा–१ मा एमालेका खिमबहादुर थापाले ९४३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका झविलाल डुम्रेले ३६७ मत प्राप्त गरेका छन्। यहाँ मतान्तर ५७६ रहेको छ।
बाँके–२ मा एमालेका मोहम्मद इश्तियाक राईले १३ हजार ८२९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ९ हजार ६५३ मत प्राप्त गरेका छन्। यहाँ ४ हजारभन्दा बढी मतको अन्तर देखिएको छ।
दैलेख–२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २ हजार ७९९ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २ हजार २९ मत प्राप्त गरेका छन्। यहाँ ५७० मतको अन्तर रहेको छ।
अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटीले १ हजार १९५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् भने कांग्रेसका पुष्पबहादुर शाहले ७९३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ४०२ मतको अन्तर छ।
बझाङमा एमालेका ऐनबहादुर महरले ३ हजार ५५५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसायलीले ३ हजार ३५४ मत प्राप्त गरेका छन्। यहाँ मतान्तर २०१ रहेको छ।
डोटीमा एमालेका दीपकबहादुर धामीले ४ हजार २८७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। कांग्रेसका भरतबहादुर खड्काले ३ हजार ४६० मत प्राप्त गरेका छन्। यहाँ दुई उम्मेदवारबीच ८२७ मतको अन्तर रहेको छ।