अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य हमला गर्ने वा शान्ति सम्झौताको बाटो रोज्ने विषयमा आफूले ‘ठूलो निर्णय’ गर्नुपर्ने बताएका छन्।
मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा (यूएनजीए) लाई सम्बोधन गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व समाधान नभए इस्लामिक गणतन्त्र इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पार्न सक्ने चेतावनी दिएका हुन्।
ट्रम्पले इरानले आणविक हतियार प्राप्त गर्न नपाएको दाबी गर्दै आफूले अघि सारेको ‘शक्तिको माध्यमबाट शान्ति’ नीतिको बचाउ गरे। उनले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुन सक्ने विश्वाससमेत व्यक्त गरे।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभाको छेउमा अमेरिकी र इरानी प्रतिनिधिबीच तीन घण्टाभन्दा लामो वार्ता भएको छ। अमेरिकी विशेष दूत स्टिभ विट्कफ र इरानी विदेशमन्त्री अब्बास अराघ्चीबीच कतारको मध्यस्थतामार्फत वार्ता भएको इरानी पक्षले जनाएको छ। वार्तामा इरानले सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने र अमेरिकाले गर्दै आएको ‘आक्रमण’ रोक्नुपर्ने सर्त राखेको बताइएको छ।
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफूले पहल गरिरहेको पनि बताए। उनले रुस र युक्रेनका नेतासँग नजिकबाट काम भइरहेको र युद्ध अन्त्य हुने दाबी गरे। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग न्यूयोर्कमा भेटवार्ता गर्ने बताइएको छ।
सम्बोधनका क्रममा ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) मा अमेरिकाको अग्रता चीनलाई नदिने बताएका छन्। उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई ‘सुपर इन्टेलिजेन्स’ भन्नुपर्ने धारणा राख्दै प्रविधिको विकासमा अमेरिकाले नेतृत्व कायम राख्ने बताएका छन्।
ट्रम्पले विश्व सरकारको अवधारणाको समेत विरोध गर्दै राष्ट्रिय सार्वभौमिकतामा जोड दिए। उनले संयुक्त राष्ट्रसंघमाथि ‘विश्वव्यापीवादी कर्मचारीहरूको वामपन्थी एजेन्डा’ अघि बढाएको आरोप लगाउँदै अमेरिकाको राष्ट्रिय हितका लागि आवश्यक परे आफ्नो सैन्य शक्ति प्रयोग गर्ने चेतावनी दिए।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा विभाजन र तनाव बढिरहेको भन्दै अन्तर्राष्ट्रिय सहकार्य र पारस्परिक निर्भरताको महत्त्वमा जोड दिएका थिए। उनले भूराजनीतिक प्रतिस्पर्धा, युद्ध, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताले विश्वसामु चुनौती थपिरहेको बताएका थिए।