वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट कायम गरेको छ।
नगर सभाको विशेष २१औँ अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको संशोधित बजेट तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, वातावरण तथा सहरी सौन्दर्यीकरणलाई प्राथमिकता दिइएको छ।
महानगरले यसअघि चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर आन्तरिक राजस्व परिचालनमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसकेपछि बजेट संशोधन गरिएको महानगरले जनाएको छ।
संशोधित बजेटमध्ये चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बीपी उद्यानलाई आधुनिक सहरी पार्क बनाइने
महानगरको मुख्य केन्द्र घण्टाघरनजिक रहेको बीपी उद्यानलाई आधुनिक, आकर्षक, हरियालीयुक्त तथा बहुउपयोगी सहरी उद्यानका रूपमा विकास गरी चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ।
उद्यानमा हिँड्ने बाटो, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गर्ने कार्यक्रम बजेटमा समेटिएको छ।
त्यस्तै, वीरगञ्जलाई रातिको समयमा सुरक्षित तथा आकर्षक बनाउन सञ्चालन हुँदै आएको **‘उज्यालो वीरगञ्ज अभियान’**लाई निरन्तरता दिइने भएको छ। मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलइडी र हाइमास्ट बत्ती जडानलाई तीव्रता दिने, जडान भएका बत्तीको नियमित अनुगमन गर्ने तथा तत्काल मर्मतका लागि द्रुत मर्मत संयन्त्र परिचालन गर्ने योजना महानगरको छ।
सडक, हरियाली र सम्पदा संरक्षणमा जोड
वीरगञ्जलाई स्वच्छ, हरित र आकर्षक सहरका रूपमा विकास गर्न सडकका बीचका भागमा हरियाली प्रवर्द्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्ड व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गर्ने कार्यक्रम पनि बजेटमा राखिएको छ।
शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता
महानगरले सार्वजनिक विद्यालयको दरबन्दी संरचनालाई विद्यार्थी संख्यासँग मिलाउने नीति अघि सारेको छ। भोजपुरी भाषा, संस्कृति, साहित्य तथा कलाको संरक्षण र प्रवर्द्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संस्था तथा व्यक्तिको सक्रियतामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थललाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना छ। युवामा बढ्दो दुर्व्यसन नियन्त्रणका लागि साझेदार संस्थासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
निजी क्षेत्रसँग सहकार्यमा नगर बस चलाउने
वीरगञ्ज महानगर क्षेत्रका नागरिकलाई नियमित, सुरक्षित, सहज र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउन निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गर्ने योजना समेत संशोधित बजेटमा समेटिएको छ।
बजेट कार्यान्वयन भने कमजोर
महानगरले चालु आर्थिक वर्षका लागि सुरुमा विनियोजन गरेको ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँमध्ये हालसम्म ९ करोड ५० लाख ४१ हजार रुपैयाँ अर्थात् करिब २ प्रतिशत मात्रै खर्च भएको जनाएको छ।
त्यसमध्ये चालुतर्फ ९ करोड ५० लाख रुपैयाँ अर्थात् ४ प्रतिशत र पुँजीगततर्फ १३ लाख रुपैयाँ अर्थात् ०.५ प्रतिशत खर्च भएको छ।
महानगरका अनुसार संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडबाट अपेक्षित स्रोत प्राप्त हुन सकेको छैन। संघीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुमान गरिएको २ अर्ब २२ करोड ९७ लाख ८३ हजार रुपैयाँमध्ये हालसम्म २६ करोड ९३ लाख रुपैयाँ अर्थात् १२ प्रतिशत मात्रै प्राप्त भएको छ।
मधेस प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँडबापत अनुमान गरिएको ६ करोड ६७ लाख रुपैयाँ भने हालसम्म प्राप्त नभएको बजेट वक्तव्यमा उल्लेख छ।
त्यस्तै, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिए पनि हालसम्म प्राप्त भएको छैन। आन्तरिक स्रोततर्फ अनुमान गरिएको १ अर्ब ४८ करोड रुपैयाँमध्ये १० करोड ५० लाख रुपैयाँ प्राप्त भएको महानगरले जनाएको छ।
सीमित स्रोत–साधनको विवेकपूर्ण उपयोग गर्दै उत्पादन, रोजगारी, उद्यमशीलता र निजी लगानी प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने तथा नागरिक केन्द्रित सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य महानगरले राखेको छ।