बारा, जीतपुरसिमरा उपमहानगरपालिका–३ अन्तर्गत अमलेखगञ्जको ३ नम्बर पुल क्षेत्रमा सडक तथा वनक्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन पुगेको वन कार्यालयको टोली जनप्रतिनिधिको अवरोधपछि फर्किएको छ।
डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा सोमबार एस्काभेटरसहित वनरक्षक तथा कर्मचारीको टोली अतिक्रमित संरचना हटाउन पुगेको थियो। तर, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा जनप्रतिनिधिहरू घटनास्थल पुगेपछि कारबाही रोकिएको हो।
यस क्षेत्रमा चार महिनाअघि जेठ १ गते डिभिजन वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालय हेटौँडाको संयुक्त टोलीले सडक तथा वनक्षेत्र अतिक्रमण गरी बनाइएका ७२ वटा घर, टहरा र होटल हटाएको थियो। तर, पछिल्लो समय सोही क्षेत्रमा पुनः ६ वटा होटल तथा घर–टहरा निर्माण भएको वन कार्यालयले जनाएको छ।
अतिक्रमण हटाउन लागिएको सूचना पाएपछि बिहानै पुगेका जनप्रतिनिधिले स्थानीय तहको अनुमति बिना संघीय सरकारअन्तर्गतका निकायले कारबाही गर्न नमिल्ने दाबी गरेका थिए। उपप्रमुख अधिकारीले संघीय सरकारको नेतृत्वमा रहेको निकायले स्थानीय तहसँग समन्वय नगरी गर्ने काम वैध नहुने बताएका थिए।
करिब तीन घण्टा चलेको छलफलपछि तत्कालका लागि चाडपर्वसम्म अतिक्रमण हटाउने काम स्थगित गर्ने सहमति भएको छ। चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरी थप निर्णय गर्ने सहमति भएको हो।
वन अधिकृत कुर्मीले जनप्रतिनिधिको आग्रहमा तत्काल कारबाही स्थगित गरिए पनि अतिक्रमित संरचना नहटाइए पछि वन कार्यालयले नै हटाउने बताए। उनका अनुसार उक्त क्षेत्र अतिक्रमित क्षेत्रको नकारात्मक सूचीमा परेको भएकाले त्यहाँ घर–टहरा बनाएर बसोबास वा व्यापार गर्न पाइँदैन।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जनप्रतिनिधिहरू नै घटनास्थलमा पुगेपछि सम्भावित मुठभेड रोक्न केही दिनका लागि समय दिइएको बताए। उनले तोकिएको समयमा संरचना नहटाए डोजर लगाएर हटाउने प्रक्रिया अघि बढ्ने स्पष्ट पारे।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाका अनुसार अमलेखगञ्ज क्षेत्रमा यसअघि हटाइएका ३६ घरधुरीका ७२ संरचनामध्ये दुई परिवार मात्रै वास्तविक सुकुमबासी थिए। दुधौरा पुलमुनिको बस्तीमा रहेका करिब ५० घरधुरीमध्ये ६ देखि ८ घरधुरी मात्रै सुकुमबासी रहेको र उनीहरूको व्यवस्थापनमा राज्यले सहयोग गर्ने उनले बताए।
वन कार्यालयको टोलीलाई रोक्न जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षसहित जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टको नेतृत्वमा ७० जनाभन्दा बढी प्रहरी परिचालन गरिएको थियो। सशस्त्र प्रहरीको टोलीलाई भने स्थानीयसँग समय मागिएपछि प्रमुख जिल्ला अधिकारीले पथलैयाबाटै फर्कन निर्देशन दिएका थिए।