नेपाल कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावका बेलामात्रै टिकटका लागि विवाद नगरी अहिलेदेखि नै जनताको मन जित्ने काममा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
वीरगञ्जमा आयोजित एकता समायोजन, सपथ ग्रहण तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले पदमा बस्ने तर काम नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले महिला तथा युवाहरूलाई नेतृत्वमा अगाडि बढाउन आग्रह गरेका हुन् ।
नेपालले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरूदेखि प्रदेश र ७५१ सदस्यीय जिल्ला कमिटीका सदस्यहरू केवल पदमा सीमित हुनु भएन। दलित, मुस्लिम, पछाडि पारिएका समुदाय, किसान र मजदुरका घरघरमा पुगेर वास्तविक समस्या बुझ्न परिचालित हुनुहोओस् ।’
शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि उत्पादन र मलखादजस्ता किसानका समस्यालाई मुख्य मुद्दा बनाएर आवाज उठाउनुपर्नेमा उनको जोड थियो । यसमा सरकारलाई नीति तर्जुमा गर्न दबाब दिनुपर्ने उनको भनाइ थियो।
पर्साको भौगोलिक र आर्थिक महत्व रहेको नेता नेपालले बताए । उनले भारतसँगको मुख्य नाका रहेको यो जिल्ला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणपछि अझ महत्त्वपूर्ण हुने बताए।