महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘महिला नेतृत्वको लागि अभियान परियोजना’अन्तर्गत सहकर्मी सिकाइ कार्यक्रम सम्पन्न भएको छ।
दलित महिला संघ पर्साको आयोजना र उमन फण्ड एसियाको सहयोगमा वीरगञ्जमा बुधबार आयोजित कार्यक्रममा ३५ जना महिलाको सहभागिता रहेको थियो।
सहकर्मी सिकाइ सत्रमा महिलाको नेतृत्व क्षमता विकास, अनुभव आदानप्रदान, सामाजिक सहभागिता तथा समुदायमा महिलाको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो। सहभागी महिलाले नेतृत्वका क्रममा आफूले भोगेका अनुभव, चुनौती तथा समस्याबारे समेत विचार आदानप्रदान गरेका थिए।

कार्यक्रम बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति देवी चौरसियाको प्रमुख आतिथ्य तथा दलित महिला संघ पर्साकी अध्यक्ष नागीदेवी गोसाइँको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सञ्चारिका समूह प्रदेश सचिव एवम् मध्य नेपालका सम्पादक कतिवा खड्का, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि तुलसी भण्डारीलगायतको सहभागिता थियो ।
उपाध्यक्ष चौरसियाले सहकर्मी सिकाइमार्फत महिलाबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुनुका साथै नेतृत्व विकासमा सहयोग पुग्ने बताइन्। महिलालाई सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय रूपमा सहभागी गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रममा दलित महिला संघकी कार्यकारी निर्देशक निला रामको समेत विशेष उपस्थिति रहेको थियो। सहभागी महिलाले महिला नेतृत्वलाई प्रभावकारी बनाउन निरन्तर सिकाइ, आपसी सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको बताएका थिए।
सहकर्मी सिकाइ सत्रले महिलालाई आफ्ना अनुभव आदानप्रदान गर्ने, एकअर्काबाट सिक्ने तथा समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गरेको आयोजकको दाबी छ।