दक्षिण एसियाको प्रमुख फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाउन नपाउने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि फिफाले लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा हुन नसकेपछि आगामी नोभेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपबाट नेपाल बाहिरिने भएको हो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपाललाई निलम्बन फुकुवा गराउन सेप्टेम्बर ३० सम्मको समय दिएको थियो। यसअघि अगस्ट १ मा भएको साफ च्याम्पियनसिपको ड्रमा नेपाललाई समावेश गरिएको थिएन। फिफाको निलम्बन फुकुवा भए नेपाललाई समूहमा समावेश गरेर खेल तालिका पुनः निर्धारण गर्ने विकल्प भने खुला राखिएको थियो।
तर निर्धारित समयसीमा सकिएपछि नेपालका लागि साफ च्याम्पियनसिप खेल्ने सम्भावना समाप्त भएको हो।
फिफाले गत जुन २४ मा एन्फालाई निलम्बन गर्दा ‘तेस्रो पक्षको हस्तक्षेप’लाई मुख्य कारण मानेको थियो। फिफाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मार्च २५ को निर्णय पूर्ण रूपमा फिर्ता लिनुपर्ने, तत्कालीन एन्फा कार्यसमितिलाई पुनः काम गर्न दिनुपर्ने र एन्फाले सुरु गरेको निर्वाचन प्रक्रिया आफ्नै विधानअनुसार अघि बढ्न दिनुपर्ने सर्त राखेको थियो।
यसअघि राखेपले एन्फाले विधान संशोधन गरी निर्वाचन गर्न दिएको निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसपछि एन्फाले निर्धारित निर्वाचन स्थगित गरेको थियो। निर्वाचन स्थगित भएपछि फिफाले त्यसलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा व्याख्या गर्दै एन्फालाई निलम्बन गरेको हो।
निलम्बन फुकुवा गराउन सरकार र एन्फाबीच समन्वयको प्रयास भए पनि विवाद समाधान हुन सकेन। सरकारले फिफासँग समन्वय भइरहेको बताउँदै आएको छ भने राखेपका सदस्यसचिव रामचरित्र मेहताले पनि निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको दाबी गरेका छन्।
अर्कोतर्फ, एन्फाले फिफाले आफूलाई निलम्बन गरे पनि बर्खास्त नगरेको र फिफाको नजरमा वर्तमान कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै आएको छ। एन्फाले सरकारसँग प्रत्यक्ष संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्दै आएको छ।
विवादकै बीच सरकारले एन्फाका आर्थिक तथा प्रशासनिक गतिविधिमाथिको अनुसन्धान पनि अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। जर्सी तथा खेल सामग्री खरिद, विश्वकप टिकट बिक्री र नेपाल–बहराइन खेल व्यवस्थापनसँग सम्बन्धित आर्थिक विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एन्फाका अनुसार आर्थिक कारोबारमा रोक लाग्दा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा एन्फा एकेडेमीका युवा खेलाडीको नियमित व्यवस्थापनमा समेत समस्या परेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीदेखि घरेलु फुटबल गतिविधिसम्म निलम्बनको प्रभाव देखिन थालेको एन्फाको दाबी छ।
सेप्टेम्बर १७ मा पत्रकार सम्मेलन गर्दै एन्फाले सरकारसँग विवाद समाधानका लागि स्पष्ट र निर्णायक पहल गर्न आग्रह गरेको थियो। तर त्यसयता पनि निलम्बन फुकुवाका लागि निर्णायक प्रगति हुन सकेन।
सन् १९९७ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले निरन्तर सहभागिता जनाउँदै आएको थियो। यसपटक भने फिफाको निलम्बनका कारण नेपाल पहिलोपटक प्रतियोगिताबाट बाहिरिने भएको हो।
साफ च्याम्पियनसिप गुमाउनु तत्काल देखिएको परिणाम भए पनि निलम्बन लम्बिँदा नेपाली फुटबलका अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको विकास तथा घरेलु फुटबल गतिविधिमा समेत असर पर्न सक्ने अवस्था बनेको छ।