नेपाल कृषि प्रधान देश हो । यहाँको अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा, ग्रामीण जीवनशैली तथा प्राकृतिक स्रोतको व्यवस्थापनमा कृषि र वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको भौगोलिक तथा जैविक विविधताले कृषि, पशुपालन, जडीबुटी, वनजन्य वस्तु तथा कृषि र वन प्रणालीको व्यावसायिक विकासका लागि पर्याप्त सम्भावना बोकेको छ । तर, उपलब्ध सम्भावनाको तुलनामा कृषि तथा वन क्षेत्रको व्यवसायीकरण अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । परम्परागत उत्पादन प्रणाली, कृषियोग्य जमिनको खण्डीकरण, श्रमशक्तिको अभाव, कमजोर पूर्वाधार, बजारको समस्या, प्रविधिको कमी, प्राकृतिक विपद् तथा नीतिगत कमजोरीलगायत विभिन्न कारणले कृषि र वन व्यवसायको विकासमा चुनौती देखिएका छन् ।
प्रमुख समस्याहरू
नेपालमा कृषि व्यवसायीकरणको पहिलो प्रमुख समस्या कृषियोग्य जमिनको निरन्तर घट्दो क्षेत्रफल र जमिनको खण्डीकरण हो । पुस्तौंपुस्ताको अंशबण्डाका कारण कृषि जमिन साना–साना टुक्रामा विभाजित हुँदै गएको छ । यसले चक्लाबन्दी, यान्त्रीकरण र व्यावसायिक खेती गर्न कठिन बनाएको छ । साना टुक्रामा विभाजित जमिनमा आधुनिक कृषि प्रविधिको प्रयोग तथा ठूलो परिमाणमा उत्पादन गर्न कठिन हुने भएकाले उत्पादन लागतसमेत बढ्ने गरेको छ ।
कृषि क्षेत्रमा दक्ष, अर्धदक्ष तथा श्रमिक जनशक्तिको कमी अर्को महत्वपूर्ण समस्या हो । रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिने क्रम बढेकाले गाउँघरमा कृषि श्रमिकको अभाव भएको छ । यसका कारण कृषि कार्यमा मजदुरीको लागत बढ्नुका साथै समयमा खेती लगाउन, गोडमेल गर्न र बाली भित्र्याउन कठिनाइ हुने गरेको छ । खेतीपातीलाई सम्मानजनक र व्यावसायिक पेसाका रूपमा स्थापित गर्न नसक्नुले पनि कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घटाएको छ ।
भरपर्दो सिँचाइको अभावले कृषि व्यवसायीकरणलाई थप चुनौती दिएको छ । नेपालमा धेरै कृषि जमिन अझै पनि वर्षामा निर्भर छन् । वर्षा अनियमित हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्छ । त्यसैगरी गुणस्तरीय बीउ, मल, कृषि औजार तथा अन्य सामग्री समयमै र पर्याप्त मात्रामा उपलब्ध नहुनु पनि समस्या हो । वन विनाश तथा प्राकृतिक स्रोतको क्षयीकरणले माटोको उर्वराशक्ति, जलस्रोत तथा वातावरणीय सन्तुलनमा असर पु¥याइरहेको छ ।
वैज्ञानिक खेती प्रणाली, आधुनिक प्रविधि, यान्त्रीकरण, अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त विकास हुन नसक्नु पनि कृषि व्यवसायीकरणको बाधक हो । परम्परागत ज्ञान र प्रविधिको आफ्नै महत्व भए पनि बढ्दो जनसंख्या र बजारको मागअनुसार उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग आवश्यक हुन्छ । तर, साना किसानका लागि आधुनिक उपकरण, प्रविधि तथा प्राविधिक सेवामा पहुँच अझै सीमित छ ।
कृषि उत्पादनको मात्रा तथा उत्पादकत्व अपेक्षाकृत कम हुनुका साथै उत्पादित वस्तुले उचित मूल्य र सुनिश्चित बजार नपाउनु पनि गम्भीर समस्या हो । किसानले उत्पादन गरेको वस्तुको मूल्य बजारमा स्थिर नहुने, कहिलेकाहीँ लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने तथा बजारमा बिचौलियाको प्रभाव रहने अवस्थाले किसानको आम्दानीमा प्रतिकूल असर पार्छ । यसले व्यावसायिक कृषि विस्तारप्रति किसानको उत्साह घटाउन सक्छ ।
त्यस्तै, रासायनिक मल, बीउ, कृषि सामग्री तथा मजदूरीको लागत निरन्तर बढ्दै जानु, तर उत्पादन र आम्दानी सोही अनुपातमा नबढ्नु अर्को चुनौती हो । पशुपालनमा आएको कमीका कारण गोठेमल तथा प्राङ्गारिक मलको उत्पादनसमेत घटिरहेको छ । गुणस्तरीय उत्पादन कायम गर्न आधुनिक भण्डारण, शीतभण्डार तथा संरक्षण प्रणाली आवश्यक भए पनि धेरै क्षेत्रमा यस्ता पूर्वाधारको अभाव छ । उत्पादनपछि हुने क्षति कम गर्न नसक्दा किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था छ ।
कृषि उत्पादनको मूल्य अभिवृद्धिका लागि आवश्यक प्रशोधन उद्योगको कमी पनि व्यवसायीकरणको महत्वपूर्ण समस्या हो । कच्चा कृषि वस्तु मात्र बिक्री गर्दा किसानले सीमित आम्दानी प्राप्त गर्छन् । त्यसैले कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणलाई सँगसँगै अघि बढाउन आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर, लागत, प्रविधि तथा बजार व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता छ ।
उत्पादनका समस्याहरू
कृषि र वन एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन् । वनले माटो संरक्षण, जलस्रोत संरक्षण, जैविक विविधता तथा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान गर्छ । तर, वन तथा जंगलको एकलौटी र अव्यवस्थित उपयोग गर्ने प्रवृत्तिले वन स्रोतमा दबाब बढाएको छ । वन फँडानी, चोरी, झाडी तथा बुट्यान नष्ट गर्ने र वन क्षेत्रमा खोरिया खन्ने प्रवृत्तिले वनको गुणस्तरमा असर पार्न सक्छ ।
वन डढेलो, खडेरी, पहिरो तथा बाह्य आक्रामक वनस्पतिको प्रकोप पनि वन उत्पादनका लागि चुनौती बनेका छन् । जलवायु तथा वातावरणीय परिवर्तनसँग सम्बन्धित जोखिम बढ्दै जाँदा वन संरक्षण तथा व्यवस्थापनमा थप सावधानी आवश्यक भएको छ । काठ तथा दाउराका लागि जथाभावी रूख कटानी गर्दा वनको प्राकृतिक पुनरुत्पादनमा असर पर्न सक्छ ।
बहुउपयोगी कृषि र वन प्रणाली, वृक्षारोपण तथा संरक्षणको पर्याप्त विकास नहुनु पनि समस्या हो । स्थानीय हावापानी, माटो तथा भौगोलिक अवस्थाअनुसार उपयुक्त बाली र वनस्पति छनोट गर्न नसक्दा उपलब्ध स्रोतको पूर्ण उपयोग हुन सकेको छैन । किसानमा वन संरक्षणसम्बन्धी चेतनाको कमी तथा व्यक्तिगत स्वार्थका लागि प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्तिले पनि समस्या थपेको छ । उपयोगी, बहुउपयोगी तथा हानिकारक वनस्पतिबारे पर्याप्त ज्ञान नहुँदा वन स्रोतको वैज्ञानिक व्यवस्थापन कठिन हुन्छ ।
वनको दिगो संरक्षण तथा कृषि पूर्वाधारमा पर्याप्त लगानीको कमी, सरकारी कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुनु तथा उत्पादनभन्दा बढी उपभोग गर्ने प्रवृत्तिले पनि कृषि तथा वन क्षेत्रलाई असर पु¥याएको छ । त्यसैले वनलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा नभई जडीबुटी, फलफूल, घाँस, रेशा, खाद्य पदार्थ तथा अन्य गैरकाष्ठ वन पैदावारको स्रोतका रूपमा विकास गर्न आवश्यक छ ।
व्यावसायिक विकासका चुनौतीहरू
कृषि–वन व्यवसायको व्यावसायिक विकासका लागि अध्ययन, अनुसन्धान, परीक्षण तथा नवप्रवर्तनमा पर्याप्त लगानी आवश्यक हुन्छ । तर कृषि तथा वन क्षेत्रमा अनुसन्धानको परिणामलाई किसानको व्यवहारिक उत्पादन प्रणालीसँग जोड्ने कार्य अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन । दक्ष कृषि तथा वन विज्ञ, प्राविधिक तथा प्रशिक्षित श्रमिकको कमीले पनि व्यावसायिक विकासमा बाधा पु¥याएको छ ।
गुणस्तरीय बीउ, बिरुवा, मल तथा कृषि सामग्रीको अभाव र तिनको बढ्दो लागतले उत्पादन लागत बढाएको छ । कृषियोग्य जमिनको खण्डीकरण, चक्लाबन्दीको अभाव तथा भिरालो र पाखो जमिनको बाहुल्यका कारण यान्त्रीकरण र ठूलो परिमाणमा उत्पादन गर्न कठिन हुन्छ । प्राङ्गारिक तथा गोठेमलको उत्पादन घट्दै जानु र पशुपालनमा आएको कमीले माटोको स्वास्थ्य सुधार गर्ने स्थानीय स्रोतको उपयोगमा समेत असर पारेको छ ।
कृषि–वन पूर्वाधार, सिँचाइ, आधुनिक कृषि औजार तथा यान्त्रीकरणको कमी अर्को महत्वपूर्ण चुनौती हो । जडीबुटी तथा बहुउपयोगी वनस्पतिको वैज्ञानिक उत्पादन, संकलन, प्रशोधन र उपयोगसम्बन्धी ज्ञानको कमीले पनि व्यावसायिक सम्भावना सीमित गरेको छ । मेहनती कृषि श्रमिकको अभाव र श्रम लागतको वृद्धिले उत्पादन लागत बढाएको छ । उत्पादनको वास्तविक लागतअनुसार उचित तथा व्यावसायिक मूल्य प्राप्त नहुँदा किसानको लगानी जोखिममा पर्न सक्छ ।
प्राकृतिक विपद् तथा जलवायुजन्य जोखिम कृषि–वन व्यवसायका लागि अर्को ठूलो चुनौती हो । बाढी, पहिरो, खडेरी, असिनापानी, डढेलो तथा तापक्रममा हुने परिवर्तनले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । त्यस्तै, बाली तथा पशुमा रोग–कीराको संक्रमण बढ्दा उत्पादन घट्न सक्छ । प्रभावकारी उपचार, रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सेवा पर्याप्त नहुँदा किसानलाई थप क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।
उत्पादनपछि गुणस्तरीय संकलन, वर्गीकरण, भण्डारण तथा संरक्षणका लागि आवश्यक ज्ञान र पूर्वाधारको अभावले पनि कृषि–वन उत्पादनको मूल्य घटाउँछ । बजारमा बिचौलियाको प्रभाव, बजार मूल्यमा हुने अस्थिरता तथा किसानको कमजोर बजार पहुँचका कारण उत्पादकले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न कठिनाइ भोग्ने गरेका छन् ।
कृषि क्षेत्रमा लगानीको जोखिम बढ्नु, पर्याप्त लगानीको अभाव तथा व्यावसायिक व्यवस्थापनसम्बन्धी दक्षता कमजोर हुनु पनि चुनौती हो । सामूहिक खेती, सहकार्य, श्रम आदान–प्रदान तथा सहकारी सोचको विकास पर्याप्त नहुँदा साना किसानले उपलब्ध स्रोतको सामूहिक उपयोग गर्न सकेका छैनन् । वन व्यवस्थापनमा अस्थिरता, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनका कारण थप जोखिम सिर्जना भएको छ ।
जडीबुटीको संरक्षण, उत्पादन, प्रशोधन तथा उपयोगसम्बन्धी व्यवहारिक र प्राविधिक ज्ञानको कमीका कारण नेपालको ठूलो जडीबुटी सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । आफ्नै स्रोत, साधन तथा सीपको उपयोगभन्दा बाह्य स्रोतमा निर्भर हुने प्रवृत्ति बढ्नु तथा स्थानीय उत्पादनको सट्टा आयातित वस्तुको प्रयोगलाई प्राथमिकता दिनुले स्थानीय कृषि–वन व्यवसायमा थप दबाब सिर्जना गरेको छ ।
श्रमप्रतिको सकारात्मक सोचको कमी तथा खेतीपातीलाई हेय दृष्टिले हेर्ने सामाजिक प्रवृत्ति परिवर्तन गर्न आवश्यक छ । कृषि र वनलाई परम्परागत जीविकोपार्जनको माध्यम मात्र नभई ज्ञान, प्रविधि, उद्यमशीलता र लगानीमा आधारित व्यवसायका रूपमा विकास गर्नुपर्छ । उपलब्ध वैकल्पिक स्रोत, साधन तथा साझेदारीका अवसरहरूको प्रभावकारी उपयोग गर्न सके कृषि–वन क्षेत्रलाई थप उत्पादनशील र दिगो बनाउन सकिन्छ ।
नेपालमा कृषि–वन व्यवसायीकरणको सम्भावना ठूलो भए पनि त्यसको विकासका लागि विभिन्न संरचनात्मक, प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय चुनौतीहरू समाधान गर्न आवश्यक छ । कृषियोग्य जमिनको संरक्षण र चक्लाबन्दी, भरपर्दो सिँचाइ, गुणस्तरीय बीउ तथा मलको सहज उपलब्धता, यान्त्रीकरण, अनुसन्धान तथा नवप्रवर्तन, दक्ष जनशक्ति विकास, उत्पादनको उचित मूल्य, बजार सुनिश्चितता, भण्डारण तथा प्रशोधन पूर्वाधारको विस्तार आवश्यक छ ।
वनको दिगो व्यवस्थापन, कृषि–वन प्रणालीको विस्तार, जडीबुटी तथा बहुउपयोगी वनस्पतिको वैज्ञानिक उपयोग, स्थानीय स्रोतको संरक्षण तथा जलवायु अनुकूल उत्पादन प्रणालीमा जोड दिनुपर्छ । किसान, सहकारी, निजी क्षेत्र, अनुसन्धान संस्था तथा सरकारबीच प्रभावकारी समन्वय कायम गर्न सके कृषि–वन क्षेत्रलाई व्यवसायिक, प्रतिस्पर्धी तथा दिगो बनाउन सकिन्छ । यसका लागि नीति निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन, किसानमैत्री सेवा, पर्याप्त लगानी तथा स्थानीय तहसम्म प्राविधिक सहयोग विस्तार गर्नु आवश्यक छ । यसरी कृषि र वन क्षेत्रको सम्भावनालाई उत्पादन, रोजगारी, आयआर्जन र आर्थिक विकाससँग जोड्न सके नेपालको ग्रामीण अर्थतन्त्रलाई थप सबल बनाउन सकिन्छ ।