भारतको उत्तर प्रदेश राज्य अन्तर्गत सिद्धार्थनगर जिल्लाको कपिलवस्तुस्थित सिद्धार्थ विश्वविद्यालयमा "भारत–नेपाल सम्बन्धको हिन्दी भाषा र साहित्यमा प्रभाव" विषयक दुईदिने राष्ट्रिय संगोष्ठी भव्यताका साथ सम्पन्न भएको छ । हिन्दुस्तानी एकेडमी, प्रयागराज र सिद्धार्थ विश्वविद्यालयको हिन्दी विभागद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा दुवै देशका प्राज्ञिक व्यक्तित्वहरूले दुई राष्ट्रबीचको ऐतिहासिक र आत्मीय सम्बन्धबारे मन्थन गरेका छन् ।
विश्वविद्यालयकी कुलपति प्रोफेसर कविता शाहको प्रेरणा र मार्गदर्शनमा आयोजित संगोष्ठीको उद्घाटन सत्रमा विद्वान्हरूले भारत र नेपालको सम्बन्धलाई केवल भौगोलिक सीमामा सीमित गर्न नसकिने बताए । मुख्य वक्ताका रूपमा प्रतिष्ठित साहित्यकार प्रोफेसर रामदेव शुक्लले भने, "भारत र नेपाल सम्बन्ध केवल राजनीतिक सम्झौता होइन, यो त संवेदना, साझा परम्परा र मानवीय आत्मीयताको अटुट कडी हो।"
सोही अवसरमा प्रोफेसर सत्येन्द्र कुमार दुवेद्वारा सम्पादित कृति “भारत र नेपाल सम्बन्ध: हिन्दी भाषा, साहित्य एवं विविध आयाम” को विमोचन समेत गरियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व मन्त्री प्रोफेसर सतीश चन्द्र द्विवेदीले नेपालको विकास सधैं भारतको प्राथमिकतामा रहेको उल्लेख गरे ।
समापन सत्रमा बोल्दै प्रोफेसर मुन्ना तिवारीले छठ पर्व, साझा दार्शनिक परम्परा र लोक चेतनाले दुवै देशलाई एउटै सूत्रमा बाँधेको बताए । उत्तर प्रदेश शासनका संयुक्त सचिव डा. विनोद कुमार द्विवेदीले भगवान राम र माता सीता तथा गौतम बुद्धको दर्शनलाई दुई देशबीचको सम्बन्धको सशक्त 'सेतु'का रूपमा परिभाषित गरे ।
त्यस्तै, कोलकाता विश्वविद्यालयका डा. सत्य प्रकाश तिवारीले भाषिक सम्बन्धमा जोड दिँदै भने, "भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाउनु र नेपालमा हिन्दीको व्यापक स्वीकार्यता हुनुले दुई देशको जनस्तरको सम्बन्ध झल्काउँछ।" उनले मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटा र निराला जस्ता स्रष्टाहरूले दुवै देशको साहित्यलाई समृद्ध बनाएको चर्चा गरे ।
संगोष्ठीको दोस्रो दिन सांस्कृतिक सन्ध्यामा सूर्यकान्त त्रिपाठी ‘निराला’ को प्रसिद्ध कृति ‘राम की शक्ति पूजा’ को मञ्चन गरियो । जनकपुरकी छोरी सीता र अयोध्याका छोरा रामको कथा समेटिएको उक्त प्रस्तुतिले हलमा उपस्थित सबैलाई भावविह्वल बनाएको थियो । कुलपति प्रो. शाहले उक्त मञ्चनले भारत र नेपाल सम्बन्धको सांस्कृतिक एकात्मतालाई जीवन्त बनाएको टिप्पणी गरिन् ।
दुई दिनसम्म चलेको संगोष्ठीमा दुई दर्जनभन्दा बढी शोधार्थीहरूले आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कुलसचिव डा. अश्वनी कुमार, परीक्षा नियन्त्रक दीनानाथ यादव, प्रो. नीता यादव, र प्रो. हरिशकुमार शर्मा लगायत प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।