आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार अशोक कुमार टेमानीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । शनिबार बिहान उनी वीरगञ्ज महानगरपालिका–२६ अठराहा पुगेर स्थानीय अगुवा, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफलमा सहभागी भए ।
अशोक कुमार टेमानीले भेटघाटका क्रममा क्षेत्रको समग्र विकास, स्थानीयवासीको जीवनस्तर उकास्ने तथा आधारभूत समस्याको समाधानलाई प्राथमिकतामा राख्दै आफ्ना मुख्य एजेन्डा सार्वजनिक गरे । निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास, खानेपानी तथा ढल निकास व्यवस्थापनमा ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाए ।
उनले युवालाई स्वरोजगार तथा सीप विकासका अवसर उपलब्ध गराउने, उद्योग–व्यवसायलाई प्रोत्साहन गर्ने र मधेस प्रदेशको आर्थिक केन्द्रका रूपमा परिचित वीरगञ्जको सम्भावनालाई सदुपयोग गर्दै समृद्धि हासिल गर्ने योजना अघि सारे ।
“यो क्षेत्रले लामो समयदेखि आधारभूत विकासको अभाव झेलिरहेको छ । म निर्वाचित भएपछि संसद्मा यस क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउनेछु र केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी परिणाममुखी काम गर्नेछु,” टेमानीले भने, “विकास, समृद्धि र स्वाभिमान हाम्रो साझा अभियान हो ।”
कार्यक्रममा स्थानीयवासीले सडकको खाल्डाखुल्डी, बिजुली तथा खानेपानीको नियमित आपूर्ति, युवाहरूका लागि रोजगारी अभाव र स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा गुनासा राखेका थिए । टेमानीले ती समस्यालाई गम्भीरतापूर्वक सुनेर समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
व्यवसायी पृष्ठभूमिबाट आएका टेमानी नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत हुन् । निजी क्षेत्रको अनुभवलाई राजनीतिमा उपयोग गर्दै जनताको सेवा गर्ने उद्देश्यले यसपटक जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवारी दिएको उनले बताए ।
अभियान पर्सा–२ क्षेत्रमा सञ्चालन भइरहेको घरदैलो तथा मतदाता संवाद कार्यक्रमअन्तर्गतको एक हिस्सा हो । विभिन्न वडा तथा टोलमा निरन्तर भेटघाट गर्दै प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको उनको सचिवालयले जनाएको छ ।
छलफल कार्यक्रममा पूर्व मन्त्री तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य रमेश प्रसाद कुर्मीलगायतको सहभागिता रहेको थियो ।