पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा नजिकै गएराति करिब १ बजेतिर यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस अनियन्त्रित भई सडकबाट तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेमध्ये एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १८ पुगेको हो। मृतकमध्ये दुई जना विदेशी नागरिक रहेका छन्।
बसमा सवार ४४ जनामध्ये २७ जना घाइते भएका छन्। सबै घाइतेको घटनास्थलबाट उद्धार गरिएको छ। केहीलाई मलेखु र जिल्ला अस्पताल धादिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय र्याफ्टिङ व्यवसायीको टोलीले रातिको समयमा उद्धार कार्य सञ्चालन गरेका थिए। डुंगाको सहायताले यात्रुलाई करिब एक किलोमिटर तलसम्म ल्याई, त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
बस त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत अवस्थामा भेटिएको छ। रातिको अँध्यारो, अप्ठेरो भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए। “प्रहरीहरूले टर्च बाल्दै घाइतेको उद्धार गर्नुपर्यो, उद्धार सामग्रीको अभाव महसुस भयो,” उनले बताए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।