भारतको उत्तर प्रदेशको बान्दा जिल्लामा ३३ जना बालकमाथि यौन शोषण गरी अश्लील भिडियो बनाएर डार्क वेबमा बिक्री गर्ने दम्पतीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। जिल्ला अदालतका अतिरिक्त न्यायाधीश पीके मिश्रले यो घटनालाई “अत्यन्तै जघन्य अपराध” (Rarest of Rare) को श्रेणीमा राख्दै ५० वर्षीय राम भवन र ४७ वर्षीया दुर्गावतीलाई कठोर सजाय दिने फैसला गरेका हुन्।
अदालतका अनुसार, विगत एक दशकमा तीनदेखि १० वर्ष उमेर समूहका बालकलाई क्रूर यातना दिइएको र तिनका अश्लील तस्बिर तथा भिडियो डार्क वेबमार्फत ४७ देशमा बिक्री गरिएको थियो। अदालतले भनेको छ, “दोषीहरूले गरेका अपराध यति क्रूर छन् कि उनीहरू भविष्यमा सुध्रिने सम्भावना छैन। पीडितलाई न्याय दिलाउन र समाजमा यस्ता अपराध रोक्न कठोर सजाय अपरिहार्य छ।”
राम भवन र दुर्गावतीलाई भारतीय दण्ड संहिता र पोक्सो ऐन अन्तर्गत अप्राकृतिक अपराध, यौन आक्रमण, बालबालिकाको अश्लील प्रयोग, अश्लील सामग्रीको भण्डारण, दुरुत्साहन र आपराधिक षड्यन्त्रजस्ता आरोपमा मृत्युदण्ड दिइएको छ। साथै, अदालतले सरकारलाई प्रत्येक पीडित बालबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने आदेश पनि दिएको छ।
यो अपराध इन्टरपोलको सचेतनापछि भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले पर्दाफास गरेको थियो। सीबीआईले ३१ अक्टोबर २०२० मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान क्रममा दिल्लीको एम्स अस्पतालको मेडिकल टिमले २५ पीडित बालबालिकाको स्वास्थ्य परीक्षण गरेको थियो, जसबाट प्राप्त प्रमाणका आधारमा दम्पतीलाई दोषी ठहर गरी मृत्युदण्ड सुनाइएको हो।
अनुसन्धान प्रतिवेदनअनुसार, उत्तर प्रदेश सिँचाइ विभागका पूर्व जुनियर इन्जिनियर राम भवन र उनकी पत्नी दुर्गावतीले सन् २०१० देखि २०२० को बीचमा बान्दा र चित्रकूट क्षेत्रमा बाल यौन शोषणको नेटवर्क सञ्चालन गरेका थिए। केही पीडितलाई गम्भीर चोटपटक पुगेको थियो भने केहीको आँखामा स्थायी समस्या देखिएको थियो।
यस निर्णयले डार्क वेबमा बाल यौन दुर्व्यवहारको व्यापार र त्यससँग सम्बन्धित अपराधमा कडा संदेश गएको बताइएको छ।