नेपाली काँग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै अब सर्लाहीमा सांसद खोज्न नपर्ने वाचा गरेका छन्।
भगवतीपुर र सिमरामा घरदैलोको क्रममा मतदाताले चुनावको बेला मात्र देखिने र अन्य समयमा नदेखिने सांसदप्रति गुनासो व्यक्त गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा छुट्टै सम्पर्क कार्यालय राख्ने र निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“नेपालको नेतृत्व गर्न केवल पहाड र काठमाडौं बुझ्नु पर्याप्त छैन, मधेस पनि बुझ्नुपर्छ। म अहिले मधेस बुझ्न र यहाँको विकासका लागि सर्लाही आएको हुँ,” थापाले मतदातासँग संवाद गर्दै भने।
थापाले मतदातालाई सम्बोधन गर्दै भने, “चुनावको बेला घरघर देखिने अरूबेला नदेखिने सांसदबाट तपाईंहरू थाक्नुभयो। अब तपाईंले सांसद खोज्नु पर्दैन, म आफैँ आउँछु। सर्लाही मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय र टिम रहनेछ। कुनै अप्ठ्यारोमा ‘ए गगन दाइ’ भनेर फोन गर्न सक्नुहुनेछ।”
सांसद बनेपछि कांग्रेस नेतृत्वको सरकारमा सबै नागरिकलाई अस्पतालमा उपचारका लागि खल्तीबाट पैसा तिर्न नपर्ने व्यवस्था मिलाउने पनि उनले वाचा गरे। किसान, विशेष गरी उखु किसानका समस्यामा पनि आफू सचेत रहेको र प्रधानमन्त्रीसँग छलफल भइसकेको जानकारी थापाले दिएका छन्।
उहाँले हालै सर्लाही–४ मा इन्जिनियरिङ कलेज खोल्ने निर्णय गराइएको र किड्नी उपचार केन्द्र पनि यही क्षेत्रमा स्थापना हुने भएको बताउँदै मतदातालाई काम गर्ने मौका दिन आग्रह गरे।
थापाले मतदातासँग आग्रह गर्दै भने, “२१ गतेसम्म मेरो लागि हिँडिदिनुहोस्, २१ गतेपछि तपाईंहरूको जिम्मा म लिन्छु। कोही एमाले, माओवादी वा रास्वपा होइन, सर्लाहीको विकासका लागि गगन थापा आएको छ भन्ने कुरा घरघर पुगाउनुस्। म हक खोज्न आएको हुँ, काम गर्ने मौका दिनुस्।”
यसअघि मतदानका बेलामा मात्र देखिने सांसदको परम्परालाई तोड्दै थापाले मतदातासँग प्रत्यक्ष सम्पर्क र नियमित संवादमार्फत क्षेत्रको विकास र समस्याको समाधानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।