नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पर्सा क्षेत्र नं. १ का उम्मेदवार पूर्वमन्त्री प्रदीप यादवले मधेशको परम्परागत खेल कुस्तीको प्रवर्द्धनमा जोड दिएका छन् । वीरगञ्ज महानगरपालिका-३० लालपर्सामा महाशिवरात्रि पर्वको अवसरमा आयोजित दुईदिने मेलाको दोस्रो दिन सोमबार 'विराट कुस्ती प्रतियोगिता' (दंगल) को उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
प्रतियोगिताको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै यादवले खेलकुदले युवाहरूमा अनुशासन र शारीरिक तन्दुरुस्ती मात्र नभई आत्मविश्वास समेत बढाउने उल्लेख गरे । "कुस्ती मधेशको माटोको खेल हो, यो हाम्रो मौलिक पहिचान हो," यादवले भने, "यस्ता खेलहरूलाई स्थानीय स्तरमा मात्र सीमित नराखी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन भौतिक पूर्वाधारको विकास र नियमित प्रतियोगिताहरू आयोजना हुनुपर्छ।"
उनले युवाहरूलाई लागूऔषध जस्ता कुलतबाट टाढा राख्न र स्वस्थ समाज निर्माण गर्न खेलकुद क्षेत्रको भूमिका अपरिहार्य रहेको चर्चा समेत गरे । उद्घाटनका क्रममा यादवले अखाडामा पुगेर खेलाडीहरूसँग हात मिलाउँदै उनीहरूको हौसला बढाएका थिए ।
लालपर्सामा आयोजित उक्त प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रख्यात कुस्ती खेलाडीहरू (पहलवान) को सहभागिता रहेको थियो । परम्परागत शैलीको यस खेललाई हेर्न स्थानीयको उल्लेख्य सहभागिता रहँदा मेलास्थल खचाखच भरिएको थियो ।
कार्यक्रममा वीरगञ्ज-३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष अमानत अन्सारी लगायत स्थानीय नेता, समाजसेवी तथा खेलप्रेमीहरूको उपस्थिति थियो । आयोजक समितिले महाशिवरात्रिको अवसरमा हरेक वर्ष यस्ता प्रतियोगिता आयोजना गर्दा सांस्कृतिक जगेर्नाका साथै स्थानीय प्रतिभाहरूले समेत अवसर पाउने विश्वास व्यक्त गरेको छ ।
प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजक समितिले धन्यवाद ज्ञापन गरेको थियो ।