जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्। "किसानको सम्मान र मधेसको उत्थान" भन्ने नाराका साथ सरार्फले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो तथा मतदाता संवाद कार्यक्रमलाई अगाडि बढाएका हुन् ।
सोमबार वीरगञ्ज-१४ पिप्रामा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सरार्फले तराई मधेसको आर्थिक मेरुदण्ड कृषि भए पनि राज्यले सधैँ किसानलाई उपेक्षा गरेको आरोप लगाए । उनले जनमत पार्टीको मुख्य प्राथमिकता नै किसानलाई अधिकारसम्पन्न बनाउनु रहेको जिकिर गरे ।
उम्मेदवार सरार्फले वीरगञ्जस्थित बन्द अवस्थामा रहेको कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने आफ्नो मुख्य चुनावी प्रतिबद्धता रहेको बताए । "किसानलाई आधुनिक प्रविधि र व्यावसायिक दृष्टिले सक्षम नबनाई मधेसको समृद्धि सम्भव छैन," उनले भने, "डा. सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीसँग मात्र किसानका समस्या समाधान गर्ने स्पष्ट खाका र दृष्टिकोण छ।"
उनले कृषिमा आधुनिकीकरण, सिँचाइको उचित व्यवस्था र मलखादको सहज उपलब्धताका लागि आफूले सदनमा आवाज उठाउने बताउँदै आगामी निर्वाचनमा 'हर्न' छापमा मतदान गरी जनमत पार्टीलाई विजयी गराउन अपिल गरे ।
चुनावी अभियानकै क्रममा जनमत पार्टीका समर्थकहरूले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा वडा स्तरीय प्रचार प्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् । कार्यालय स्थापनासँगै स्थानीय स्तरमा चुनावी माहोल थप तातेको छ ।
पिप्रामा आयोजित कार्यक्रममा स्थानीय नेताहरू विन्ध्यालाल प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, डा. मनोज कुमार, सीए देवराज, श्यामशंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह लगायतका नेताहरूको उपस्थिति थियो ।
त्यस्तै, चुनावी अभियानमा तुल्सी राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह र रामबहादुर पासवान लगायत कार्यकर्ता र स्थानीय मतदाता सहभागी थिए । घरदैलोका क्रममा मतदाताहरूले कृषि क्षेत्रको सुधार र रोजगारीका अवसर सिर्जना गर्न उम्मेदवार सरार्फसँग माग गरेका थिए ।