नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले पर्सा क्षेत्र नम्बर-१ बाट एमाले उम्मेदवार प्रदीप यादवलाई अत्याधिक मतका साथ विजयी गराउन मतदातासँग आग्रह गरेका छन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गर्दै सो सरकारमा यादवलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका-१२ श्रीपुरमा स्थापना गरिएको एमाले उम्मेदवार यादवको सम्पर्क कार्यालयको बिहीबार उद्घाटन गर्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन्। कार्यक्रममा पर्सा-१ का एमाले उम्मेदवार प्रदीप यादवको विशेष उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै भट्टराईले प्रदीप यादव कर्मठ, लोकप्रिय र जनताको बीचमा निरन्तर रहने नेता भएको उल्लेख गरे । “यस्ता जनप्रिय नेतालाई संसदमा पठाउन आवश्यक छ,” उनले भने, “पर्सा-१ का मतदाताले अत्याधिक मतका साथ जिताएर पठाउनुपर्छ।”
कार्यक्रममा बोल्दै उम्मेदवार यादवले संविधान र मधेसका मुद्दाको संरक्षणका लागि आफूले एमाले रोजेको स्पष्ट पारे। संविधान नै संकटमा परेको अवस्थामा त्यसको रक्षा गर्नु पहिलो दायित्व भएको उल्लेख गर्दै उनले संविधान सुरक्षित रहे मात्रै मधेसका अधिकार र पहिचानका मुद्दा सुरक्षित रहने बताए ।
यादवले एमाले केन्द्रिय उपमहासचिव भट्टराईको वीरगञ्ज आगमनपछि पर्सा एमालेभित्र देखिएका तीतामीठा विषयहरू अन्त्य भएको दाबी गर्दै वर्तमान कार्यक्रमले जिल्लामा एकताको सन्देश प्रवाह गरेको बताए। उनले यस पटकको निर्वाचनमा पर्साका चारवटै क्षेत्रमा एमाले विजयी हुने उद्घोष समेत गरे ।
“अहिलेको लडाइँ संविधान जोगाउने लडाइँ हो, राष्ट्र र राष्ट्रियता जोगाउने लडाइँ पनि हो,” उनले भने, “त्यसैले एमाले जिताउनु अपरिहार्य छ।”
एमाले पर्सा क्षेत्र नम्बर–१ का संयोजक मानदेव हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल, प्रदेशसभा पूर्व सदस्य जन्नत अन्सारी, एमाले जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास, नेतृ मुन्नी श्रीवास्तव लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।