जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट पर्सा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा उम्मेदवार रामनरेश यादवले चुनावी अभियानलाई तीव्रता दिएका छन् । सोही क्रममा शुक्रबार उनले पार्टीका नेताकार्यकर्ता तथा समर्थकसहित वीरगञ्ज महानगरपालिका-३० प्रसोतिपुर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गरेका थिए । उनले मधेसको हकअधिकार, सामाजिक समानता, रोजगारी सिर्जना तथा समग्र क्षेत्रीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले जनताको आत्मसम्मान, पहिचान र अधिकारको संरक्षणका लागि जसपा नेपाल भरोसायोग्य राजनीतिक विकल्प भएको दाबी गर्दै आगामी निर्वाचनमा साथ र समर्थन गर्न मतदातासमक्ष आग्रह गरे ।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उत्साहजनक सहभागिता जनाउँदै क्षेत्रका विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित समस्या, आवश्यकता र अपेक्षाबारे उम्मेदवार यादवसँग प्रत्यक्ष छलफल गरेका थिए ।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर-१ मा जसपा नेपालको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको देखिएको छ । पार्टीले घरदैलो, भेला तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँगको सम्पर्क विस्तारलाई निरन्तरता दिएको जनाएको छ ।