वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर इनर्वा निवासी मधेस आन्दोलनका शहिद धर्मराज सिंह राजपुतकी आमा कलावती देवीले नेकपा एमालेका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवलाई विजयको आशीर्वाद प्रदान गरेकी छन् ।
शुक्रबार बिहान शहिद परिवारसँग भेटघाट गर्ने क्रममा उम्मेदवार यादव शहिद राजपुतकै निवासमा पुगेका थिए । सो अवसरमा शहिदकी आमा कलावती देवीले उनलाई फूलमाला पहिर्याइन्, दोसल्ला ओढाइन्, मिठाई खुवाइन् र निधारमा अबीर टीका लगाउँदै भावुक हुँदै विजयको शुभकामना व्यक्त गरिन् ।
भेटका क्रममा उनले उम्मेदवार यादवप्रति गहिरो विश्वास व्यक्त गर्दै विगतमा धेरै नेता आएगए पनि शहिद परिवारको सुखदुःख साँचो रूपमा बुझ्ने नेता प्रदीप यादव नै रहेको बताइन् ।
शुक्रबार बिहानैदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुर तथा वडा नम्बर २२ मनियारीमा आयोजित जनतादर्शन कार्यक्रममा सहभागी भएका यादवले शहिदकी आमासँग आत्मीय संवाद गरेका थिए। उनले शहिद धर्मराज सिंहले देखाएको मार्गलाई कहिल्यै नबिर्सिने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई पनि परिवारकै सदस्यका रूपमा लिन आग्रह गरे ।
“म पनि तपाईंको छोरा हुँ, कुनै समस्या आए नडराई सिधै मलाई फोन गर्नुस्,” यादवले भने ।
उनले आफू सधैं शहिद परिवारको सुखदुःखमा साथ रहने र भविष्यमा पनि साथ नछोड्ने वाचा गरे। शहिद परिवारसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको बताए ।
अरूजस्तो आश्वासन मात्र बाँड्ने नेता नभई बोलेको कुरा व्यवहारमै कार्यान्वयन गरेर देखाउने नेता भएको दाबी गर्दै उनले आगामी दिनमा जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।