आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाले चुनावी भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन् । सोही क्रममा पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटैलीमा वडा स्तरीय भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौरसियाले पछिल्लो समय विभिन्न नयाँ राजनीतिक दलहरूको उदयसँगै उम्मेदवारहरू गाउँगाउँ र टोलटोलमा पुगिरहेको उल्लेख गरे । उनले मतदातालाई अन्य दलका उम्मेदवारसँग पार्टीको इतिहास, सिद्धान्त र लोकतान्त्रिक प्रतिबद्धताबारे प्रश्न गर्न आग्रह गरे ।
“तपाईंको पार्टीको इतिहास के छ ? सिद्धान्त के हो ? बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा विश्वास छ कि छैन ?” भन्ने प्रश्न मतदाताले सोध्नुपर्ने उनको भनाइ थियो ।
चौरसियाले देशमा शान्ति स्थापना, जनअधिकार सुनिश्चितता र लोकतन्त्र स्थापनाका लागि बलिदान दिने पार्टी नेपाली काँग्रेस मात्रै रहेको दाबी गरे । विकास निर्माणको क्षेत्रमा पनि काँग्रेस ऐतिहासिक रूपमा अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले विगतदेखि वर्तमानसम्म जनताको हितमा काम गर्ने पार्टी काँग्रेस भएको बताए ।
उनले लोकतान्त्रिक व्यवस्थामाथि लागेको अन्धकार हटाई उज्यालो भविष्य निर्माण गर्न यसपटकको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याए। पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसको जित सुनिश्चित रहेको दाबीसमेत उनले गरे ।
“हिजो, आज र भोलि पनि जनताको हितमा सोच्ने पार्टी नेपाली काँग्रेस हो,” उनले भने, “यसपटक ऐतिहासिक विजय दिलाउन म सम्पूर्ण मतदातासँग अपिल गर्छु।”
कार्यक्रममा सहभागी स्थानीयवासीले विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीसँग सम्बन्धित विषयमा आफ्ना जिज्ञासा तथा अपेक्षा राखेका थिए। चौरसियाले जनताको हितका लागि व्यक्तिगत रूपमा पनि सहकार्य र सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन मिति नजिकिँदै जाँदा चौरसियाले क्षेत्रका विभिन्न वडा तथा बस्तीमा घरदैलो, भेला र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।