आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले चुनावी अभियानलाई तीव्र बनाएका छन् । सोही क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित घुसुकपुरमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार सरार्फले वीरगञ्जको विकास, मधेसको अधिकार र पहिचानका सवालमा आफू निरन्तर संघर्षरत रहेको उल्लेख गरे । संसद तथा सम्बन्धित निकायमा पुगेर वीरगञ्ज र यहाँका नागरिकको शिर ठाडो हुनेगरी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
“वीरगञ्जको सरोकार र विकासका मुद्दा राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउनेछु,” उनले भने, “मधेसको अधिकार र पहिचान सुनिश्चित गर्ने लडाइँलाई अझ सशक्त बनाइनेछ।”
देश र मधेसको राजनीतिक निकासका लागि उत्कृष्ट दृष्टिकोण जनमत पार्टी र पार्टी अध्यक्ष डा. सिके राउतसँग मात्रै रहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न मतदातासमक्ष अपिल गरे ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बिध्या गुप्ता, अनिता रौनियार, नजमा खातुन, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतले सहभागिता जनाएका थिए ।
घरदैलोका क्रममा स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित समस्या र अपेक्षाहरू राखेका थिए । उम्मेदवार सरार्फले ती मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा सरार्फले क्षेत्रका विभिन्न बस्ती तथा टोलहरूमा जनभेटघाट र घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।