पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले श्रमिक वर्गको अधिकारको पक्षमा निरन्तर आवाज उठाउने एकमात्र राजनीतिक शक्ति नेकपा एमाले रहेको बताएका छन् ।
परवानीपुरमा शुक्रबार एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशले आयोजना गरेको श्रमिक भेलालाई सम्बोधन गर्दै उनले अन्य दलहरूलाई अवसरवादीको संज्ञा दिँदै श्रमिकको हकहितमा एमालेको भूमिका स्पष्ट रहेको दाबी गरे ।
“श्रमिक (मजदुर)को पक्षमा सदैव आवाज उठाउने एकमात्र पार्टी एमाले हो, बाँकी सबै अवसरवादी हुन्,” उनले भने, “श्रमिक वर्गको बलिदान, पसिना र संघर्षकै बलमा देशको अर्थतन्त्र चलेको छ। श्रमिकको अधिकार सुरक्षित नगरी समृद्ध नेपाल सम्भव छैन।”
यादवले आगामी निर्वाचनमा विजय सुनिश्चित गर्न श्रमिक वर्गको भूमिका निर्णायक हुने उल्लेख गर्दै श्रमिक एकता परिवर्तनको आधार हुने धारणा राखे । “श्रमिक जागेन भने परिवर्तन सम्भव हुँदैन। श्रमिक संगठित भयो भने गलत राजनीति टिक्न सक्दैन,” उनले भने ।

उनले श्रमिकलाई केवल ‘भोट बैंक’ का रूपमा हेर्ने प्रवृत्तिको आलोचना गर्दै एमालेले श्रमिकलाई नीति निर्माणको केन्द्रमा राख्दै आएको जिकिर गरे। संसदमा रहँदा न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, श्रम ऐनको प्रभावकारी कार्यान्वयनलगायत विषयमा आफूले निरन्तर आवाज उठाएको उनले स्मरण गराए ।
“संसदमा श्रमिकका आवाज दबिन नदिने काम मैले निरन्तर गरेको छु,” यादवले भने, “श्रमिकका छोराछोरीको शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रो प्राथमिकता हो।”
विशेषगरी बारा–पर्सा औद्योगिक करिडोरमा देखिएका श्रमिक समस्याप्रति गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले उद्योगमा श्रमिक शोषण, असुरक्षित कार्यपरिस्थिति, समयमा तलब नपाउने समस्या तथा सामाजिक सुरक्षा कोषमा हुने अनियमिततालाई प्राथमिकतामा राखेर समाधान खोजिने बताए। उद्योगी र श्रमिकबीच सन्तुलन कायम गर्दै दुवै पक्षलाई फाइदा पुग्ने नीति अघि सारिने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्ना समस्या खुलस्त रूपमा राख्दै एमाले नेतृत्वबाट ठोस समाधानको अपेक्षा व्यक्त गरेका थिए। भेलाले आगामी निर्वाचनमा श्रमिक वर्ग एकजुट भई एमाले उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने संकल्प गरेको आयोजकले जनाएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेश, पर्साकी अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, जिल्ला सदस्य सुन्दर कुर्मी, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अमर यादवलगायत नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।