आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभ बच्चन दासले चुनावी अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा पर्सागढी नगरपालिका वडा नम्बर १ स्थित मनवा बजारमा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
घरदैलोका क्रममा उम्मेदवार दासले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्वदेशमै रोजगारी सिर्जना आफ्नो प्रमुख एजेन्डा रहेको बताए। युवाशक्ति विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य गर्दै उत्पादन र उद्यममा आधारित रोजगारी विस्तार गरिने उनको प्रतिबद्धता थियो ।
उनले पर्सा क्षेत्रलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्न “कृषि हब” स्थापना गर्ने योजना अघि सारे। आधुनिक प्रविधि, बजार सुनिश्चितता र किसानलाई सहुलियतपूर्ण सेवा उपलब्ध गराई कृषि क्षेत्रलाई व्यावसायिक बनाइने उनले उल्लेख गरे ।
त्यसैगरी, प्राविधिक जनशक्ति उत्पादनका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गरिने तथा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गरिने दासको भनाइ थियो। “शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो, यसलाई नागरिकको पहुँचभित्र ल्याइन्छ,” उनले बताए ।
कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा आफ्ना अपेक्षा तथा समस्या राखेका थिए। मतदाताले ‘आँखा’ चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी गराउने विश्वास व्यक्त गरेको दासको सचिवालयले जनाएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार दासले क्षेत्रका विभिन्न बस्ती तथा बजार क्षेत्रमा घरदैलो, टोलसभा र जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।