पर्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तलाई वीरगञ्ज भन्सार क्षेत्रका स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका छन् । रास्वपाद्वारा बुधबार आयोजित घरदैलो कार्यक्रमका क्रममा पन्तलाई त्यस क्षेत्रका मतदाता तथा व्यवसायीहरूले फूलमाला र अबिरले स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले देशमा विद्यमान बेथिति अन्त्य गर्न रास्वपाको विकल्प नरहेको बताए । "अब रास्वपाले मात्र देशमा आमूल परिवर्तन गरी मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ डोऱ्याउन सक्छ," साहले भने, "त्यसैले हामी सबै निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न लागिपरेका छौँ।"
घरदैलो अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं उम्मेदवार पन्तले मतदाताहरूलाई अब सचेत हुने बेला आएको बताउनुभयो। उनले भने, "यदि पुराना दलका उम्मेदवारहरू भोट माग्न आए भने उहाँहरूलाई सोध्नुहोस्, विगत ३५ वर्षदेखि तपाईंहरूले के गर्नुभयो र अब जितेर के नयाँ गर्नुहुन्छ? फेरि पनि तिनै पुराना दलहरूलाई रोजेर 'जेन्जी' आन्दोलनको उपहास नगर्न म सबैमा अनुरोध गर्दछु।"
पन्तले घरदैलोका क्रममा स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए । कार्यक्रममा रास्वपाका नेता कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
रास्वपाले आगामी दिनमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।