पर्सा क्षेत्र नम्बर १ का जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगञ्जलाई औद्योगिक नगरीको पहिचान दिलाइए पनि स्थानीय युवाहरू बेरोजगारीको चपेटामा पर्नु विडम्बनापूर्ण रहेको बताएका छन् ।
बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षमनवा र वडा नम्बर ८ पानीट्याङ्की क्षेत्रमा आयोजित घरदैलो तथा मतदाता संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरार्फले रोजगारीका अवसर अभावका कारण मधेशका युवाहरू विदेशिनु पर्ने बाध्यता अन्त्य गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले त्यसका लागि आफूसँग स्पष्ट कार्ययोजना (रोडम्याप) रहेको दाबी गरे ।
सरार्फले ‘हरघर रोजगारी’ अवधारणालाई अघि सार्दै बेरोजगार युवाहरूलाई सीपमूलक तालिममार्फत स्वरोजगारीसँग जोडिने योजना प्रस्तुत गरे । साथै महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुक र मधेशले भोगिरहेका संरचनात्मक समस्या समाधानका लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग मात्र स्पष्ट र दीर्घकालीन भिजन रहेको दाबी गर्दै आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरे ।
घरदैलो कार्यक्रममा जनमत पार्टीका नेताहरू विन्ध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनरायण मिश्रा, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा. मोहम्मद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अन्जना गुप्ता र सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।